सिन्धुली – सिन्धुलीमा आङ खस्ने समस्या भएका महिलाहरूको लागि दुई दिने निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । सिन्धुली अस्पताल सिन्धुलीको समन्वय तथा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा संचालित शिविरको उदघाटन गरिएको छ ।
स्वास्थ्य निर्देशनालयको बार्षिक कार्यक्रम अन्तर्गत शिविरको आयोजना गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिनुभयो । रोग लागेर पनि लुकाएर बस्ने तथा स्वास्थ्य सेवाको पहुँचमा नरहेका महिलाहरुलाई लक्षित गरि शिबिरको आयोजना गरिएको निर्देशक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार शल्यक्रियाको लागि आउने महिलाहरुलाई निशुल्क उपचार संगै यातायात खर्च समेत उपलब्ध गराइने छ ।
बच्चा जन्माएपछि स्याहारको कमी भएका, धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुने, आरामको कमी र बढी काम गर्ने महिलाहरुमा आङ खस्ने समस्या हुने गरेको चिकित्सकहरुले बताउछन ।
शिबिर उदघाटनको अवसरमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले मानिसको जिवनमा सबैभन्दा महत्वपूर्ण जनस्वास्थ्य भएकाले नागरिकले स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभयो । भौतिक बिकास संगै सरकारले स्वास्थ्यको क्षेत्रमा ठूलो लगानी गरेकाले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुले गुणस्तरिय सेवा उपलब्ध गराउन उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आङ खस्ने समस्याको शल्यक्रिया सम्म पुग्नुपर्ने अवस्था भन्दा अगाडी नै नागरिकमा यस रोगको बिषयमा सचेतना जगाउनुपर्ने बताउनु भयो । लामो समय देखि आङ खस्ने समस्या भएका महिलाहरुलाई लक्षित गरिएकाले २ दिने शिविर मार्फत ३० जना महिलाको शल्यक्रिया गर्ने लक्ष्य रहेको सिन्धुली अस्पताल बिकास समितिका अध्यक्ष शतिस चन्द्र ढकालले बताउनुभयो ।
सिन्धुली अस्पतालमा संचालन भइरहेको शिविर मार्फत समस्यामा परेका महिलाहरूलाई स्वास्थ्य लाभ लिन सिन्धुली अस्पतालले आग्रह गरेको छ ।