बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा अवैध रुपमा ल्याईएको ब्रोइलर चल्ला बरामद

शनिवार , आषाढ १६, २०८०

सिन्धुली — भारतबाट अवैध रुपमा आयात गरिएको ब्रोइलर चल्ला शनिबार सिन्धुली प्रहरीले बरामद गरेको छ । साढे ६ हजारभन्दा बढी चल्ला महोत्तरीबाट सिन्धुली हुँदै मदन भण्डारी राजमार्गबाट हेटौंडा लैजाने क्रममा कमलामाई नगरपालिका ६ को धुराबजारबाट प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार ज १ च ७४८ नम्बरको बोलेरोमा ९७ वटा कार्टुनमा चल्ला अवैध रुपमा हेटौंडा लैजाँदै गरिएको थियो । सामान्यतः एक कार्टुनमा ६८ वटा चल्ला राख्ने गरिन्छ । महोत्तरी जिल्ला जलेश्वर नगरपाालिका घर भएका ४० वर्षीय रामस्वभाव मिश्रले नक्कली कागजात तयार गरी अवैध चल्ला भारतबाट आयात गरिएको सूचना प्राप्त भएपछि प्रहरीले बरामद गरेको जनाएको हो ।

महोेत्तरीको पिगौना ह्याचरी एण्ड ब्रिडिङ फार्मको नाम रहेको कार्टुनमा चल्ला राखिएको छ । उक्त ह्याचरी उद्योग वर्षौं अघिदेखि बन्द रहेको प्रहरीले जनाएको छ । सबै कागजातहरु नक्कली रहेको मिश्रले प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिनुभयो ।

बरामद चल्लालाई भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापा कमलामाई नगरपालिकाका पशु विकास अधिकृत रोशन कोइरालाको उपस्थितीमा चल्लालाई खाडल खनेर पुरीएको एसपी सिलवालले बताउनुभयो ।

चल्ला ल्याएको बोलेरो गाडी आवश्यक कारबाहीका लागि भन्सारमा पठाइने प्रहरीले जनाएको छ । भारतबाट आयातित चल्ला नेपालको ह्याचरी उद्योगबाट निकालिएको भन्दा सस्तोमा बिक्री हुने गरेको छ । नेपाली उद्योगको ब्रोइलर चल्लालाई प्रतिगोटा ७० रुपैयाँ पर्छ भने भारतबाट अवैध भित्रिएका चल्ला ५० रुपैयाँमै प्रतिगोटा बिक्री गर्ने पाइएको छ ।

प्रतिक्रिया