सिन्धुली – सिन्धुलीमा नदीजन्य पदार्थको अवैध उत्खन्न गरी विक्री गर्ने क्रम बढेको छ । जिल्ला अन्र्तगतको विभिन्न खोला तथा नदीमा अवैध रुपमा नदीजन्य पदार्थ बालुवा, ढुंगा, गिट्टी उत्खन्न गरि ओसारपसार गर्ने क्रम बढेको हो ।
कमलामाई नगरपालिका वडा नम्बर ५ गडौँली खोलामा अवैध रुपमा दैनिक आधा दर्जन ट्याक्टर खोलामा पसेर बालुवा उत्खन्न तथा संकलन गरि ओसारपसार गर्ने गरेको स्थानियले जानकारी दिएका छन् । अवैध रुपमा खोलाबाट बालुवा, ढुगां, गिट्टी उत्खन्न गर्दा बर्षैनी खेती योग्य जमिन खोलाले कटान गर्ने गरेको कमलामाई नगरपालिका ७ गडौँलीका कमला कुमारी खड्काले गुनासो गर्नुभयो । “गत वर्ष पनि खोलाले झण्डै दुइ कठ्ठा जमिन कटान गरेको थियो । यो वर्ष पनि पानी ठुलो आयो भने त्यो भन्दा बढी खेतीयोग्य जमिन खोलाले बगाउँछ । मापदण्ड विपरित खोलाको बालुवा, ढुगांहरु निकालीएको कारण खोलाले खेत बगाउने गरेको हो ,” उहाँले भन्नुभयो ।
रातको समयमा बढी खोलाबाट बालुवा, ढुगां निकासी गरि ओसारपसार हुने गरेको स्थानियले जानकारी दिएका छन् । जिल्लाका नदी तथा खोलाहरुमा ट्याक्टरलाई बालुवा बोक्न भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्याक्टरले नदीजन्य पदार्थ ओसार–पसार गरिरहेका छन् ।
असार १ गतेदेखि तीन महिनाका लागि निकासी बन्द हुने भएपछि नदीमा मनपरी तरिकाले निकासी गर्ने क्रम बढेको हो । नदीजन्य पदार्थ निकासीले खोला तथा नदीमा ठूला–ठूला खाल्डा परेका छन् । त्यसले गर्दा नदी , खोलाको भाग समथर छैन । यहाँका खोला नदीहरुमा मनपरी उत्खननको काम भइरहेको छ । जिल्लाका विभिन्न पालिकाले नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा तथा माटो निकासीमा रोक लगाए पनि उत्खनन भने रोकिएको छैन् । नियामक निकायले अनुगमन गर्न नसक्दा नदीजन्य पदार्थको दोहन भइरहेको हो ।
संघीय सरकारले पुस २२ गते देखि मापदण्ड विपरीत र अवैध क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू बन्द गराएको थियो । पुनः सरकारले मापदण्ड नपुगेकालाई २०८३ असार मसान्तसम्म मापदण्ड पु¥याउने अवसर दिने निर्णय गरेकाले पनि अहिले जिल्लामा अवैध नदी तथा खोला उत्खनन् भइरहेका छन् ।
जिल्लाको मरिण गाउँपालिका, हरिहरपुगढी, सुनकोशी, फिक्कल, गोलन्जोर, तिनपाटन, घ्याङलेख गाउँपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकाको खोलाहरुबाट अवैध रुपमा गिट्टी–बालुवा चोरी निकासी हुँदै आएको छ । तर सम्बन्धित निकायबाट यसको निगरानी हुन नसक्दा चोरी निकासी रोकिन नसकेको हो ।
नदीजन्य तथा खानीजन्य पदार्थको अवस्था अनुगमन गर्न जिल्ला समन्वयन समितिका प्रमुख संयोजक रहने गरी जिल्लामा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति पनि छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रहरी उपरिक्षक (एसपी) लगायतका सदस्य छन् । तर, यो समितिले जिल्लाका नदीजन्य तथा खानीजन्य पदार्थको दोहनको अवस्थाको प्रभावकारी अनुगमन गर्न सकेको छैन । जसले गर्दा यहाँका नदी लगायत अन्य खोलाहरूबाट बालुवा, गिट्टी, ढुंगाजस्ता नदीजन्य पदार्थ अवैध तस्करी भइरहेको छ ।
जिल्लाको मरिण गाउँपालिकाले नदीजन्य पदार्थको अवैध उत्खन्न रोक्नका लागि ड्रोन बाट निरिक्षण गरिरहेको मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानले बताउनुभयो । कमलामाई नगरपालिकाले पनि सुचना जारी गर्दै नदीजन्य पदार्थको उत्खन्न संकलन नगर्न आग्रह गरेको छ ।