बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा वडाध्यक्षले प्रशासकिय अधिकृतको कठालो समातेपछि...

बिहिवार , आषाढ १४, २०८०

सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका २ का वडाध्यक्षले पालिकाको प्रमुख प्रशासकिय अधिकृतमाथि अभद्र व्यवहार गरेका छन् । वडा नम्बर २ का अध्यक्ष दौलत कार्कीले बिहिबार गाउँ सभाको बैठकपछि कोठा जान लाग्नुभएका प्रमुख प्रशासकिय अधिकृत शंभु प्रसाद पौडेलको कठालो समात्नुभएको हो । वडाध्यक्षले प्रशासकिय अधिकृत पौडेलको कठालो समात्दै अभद्र व्यवहार गरेको पौडेलले बताउनुभयो ।

कार्कीसहितको टोलीले हुलहुज्जत गर्दा पौडेले चढेको चढेको बा १ झ ४७१६ नम्बरको गाडीको देब्रे लुकिङ ग्लास फुटेको छ ।

निति तथा कार्यक्रम पारित गर्न बसेको गाउँकार्यपालिकाको बैठकपछि प्रमुख प्रशासकिय अधिकृत पौडललाई वडाध्यक्ष कार्कीले हातपात गर्नुभएको हो । निति तथा कार्यक्रम पारित गर्न कानुनी प्रक्रियाका बारेमा गाउँ कार्यपालिकालाई सुझाव दिँदा वडाध्यक्ष कार्कीले कठालो समाति अभद्र व्यवहार गरेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो ।

बागमती प्रदेशले जारी गरेको ऐन अनुसार निति तथा कार्यक्रम पारित गर्न तीनपटकसम्म गाउँसभा बस्दा गणपुरक संख्या नपुगेमा गाउँसभामा उपस्थित २५ प्रतिशतले निति तथा कार्यक्रम पारित गर्ने प्रावधान रहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो । कानुनि प्रक्रियाका बारेमा आफूले गाउँसभालाई जानकारी गराउँदा निति तथा कार्यक्रम पास गर्न सहयोग गरेको भन्दै वडाध्यक्षले आफूमाथि हातपात गरेको पौडेलले बताउनुभयो ।

वडाध्यक्ष कार्कीले भने प्रमुख प्रशासकिय अधिकृत पौडेलमाथि हातपात नगरेको बताउनुभयो । कार्कीले प्रमुख प्रशासकिय अधिकृत पौडेलले मादक पदार्थ सेवन गरि गाउँसभामा उपस्थित भएको भन्दै मापसे गरे/नगरेको परिक्षण गर्न प्रहरीलाई जिम्मा लगाएको बताउनुभयो । यता, इलाका प्रहरी कार्यालय खुर्कोटका इन्चार्ज प्रहरी निरिक्षक सबिता केसीले खुर्कोट सामुदायिक अस्पतालमा पौडेलको मापसे परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । पौडेलले मादक पदार्थ सेवन नगरेको डाक्टरले जानकारी दिएको इन्स्पेक्टर केसीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा गोलन्जोर गाउँपालिकाको संघीय अनुदान घटेर आएकोले गाउँपालिकाले प्रत्येक वडालाई ४० लाखको सिलिङ गर्न अनुरोध गरेको थियो । चालु आर्थिक वर्ष २०७९/०८० मा प्रत्यक वडाले ८० लाख बजेट पाएको थियो । अघिल्लो वर्षको जस्तो आर्थिक अवस्था नरहेकोले बजेट सिलिङ कम गर्दा नेपाली कांग्रेसबाट निर्वाचित सदस्यले असन्तुष्ट जनाउँदै बैठक बहिष्कार गरेको एक कार्यपालिका सदस्यले सिन्धुली सौगातलाई बताए ।

१० असारमा बोलाइएको गाउँसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । त्यसपछि, दोश्रो बैठक १२ असारमा बोलाइएको थियो । उक्त बैठकमा पनि गणपूरक संख्या नपुगेपछि बिहिबार बैठक बोलाइएको एक कार्यपालिका सदस्यले बताए ।

१५ सदस्यीय गाउँ कार्यपालिकामा नेपाली कांग्रेसका नौँजना र नेकपा एमाले र माओवादी केन्द्रको तीन/तीनजना सदस्य छन् । त्यसैगरि, गोलन्जोर गाउँपालिकामा ४२ जना गाउँसभा सदस्य रहेका छन् ।

 

प्रतिक्रिया