बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा बोधिचित्त र रुद्राक्ष खेतीमा किसानको आकर्षण बढ्दै

बुधवार , आषाढ १३, २०८०

सिन्धुली – विश्वकै एकमात्र वनस्पति बोधिचित्त(बुद्धचित्त) माला अर्थात गौतम वुद्धले तपस्या गर्दा र वुद्धत्व प्राप्त गर्दा हातमा लिने माला र हिन्दु धर्मालम्बीहरुले प्रयोग गर्ने रुद्राक्षी मालाको ब्यवसायीक खेती तर्फ सिन्धुलीका किसानको आकर्षण बढेको छ ।

बोधिचित्त र रुद्राक्षबाट मनग्य आम्दानी हुने भएपनि जिल्लामा यस्को व्यवसायीक खेती समेत बढ्दै गईरहेको हो । कृषकहरुले बोधिचित्तको एउँटै रुखबाट बार्षिक लाखौं रुपैयाँ आम्दानी गर्ने गरेका छन । फिक्कल गाउँपालिका–२ का टिका बहादुर रम्तेलले एउँटै बोटबाट गत वर्ष ३ लाख सम्म आम्दानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत बर्ष तीनलाख आम्दानी भयो, यस वर्ष पनि घरमै ग्राहक आएर ५ लाख सम्म दिईसके तर बेचेको छैन ।” बोधिचित्त खोज्दै ग्राहकहरु घरमै आउने गरेको र बोटबाट फल नटिपी बोटै विक्री हुने गरेको रम्तेलले सुनाउनुभयो ।

परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्र यसको बिरुवा रहि आएको थियो । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा हुँदा र उच्च बजार मूल्यले गर्दा त्यसको व्यवसायीक खेति अन्य क्षेत्रमा समेत मौलाउँदै गएको हो । कम मेहनत र लगानीमा धेरै आम्दानी हुने भएकाले यस्को व्यवसायीक खेती सुरु गरिएको गोलन्जोर गाउँपालिका–३ का पुस्कर बरालले बताउनुभयो ।

उहाँले भन्नभुयो, “अत्याधिक माग र उच्च मुल्यको कारण व्यवसायिक खेति सुरु गरेका हौं, नयाँ भुगोल र हावापानीमा भएकाले कस्तो उत्पादन हुन्छ अहिले नै भन्न सक्ने अवस्था छैन ।” जिल्लाका गोलन्जोर गाउँपालिका–३ सुदामेमा २१ लाख रुपैयाँ लगानीमा २० रोपनी जग्गामा तिन सय बोधिचित्तका बेर्ना र १ सय ५० रुद्राक्षको बेर्ना रोपिएको र हाल फल्न सुरु गरिसकेको छ । काभ्रेको तिमाल क्षेत्रमा उत्पादन हुने बोधिचित्त मालाको व्यापक प्रचार र करोडौं आम्दानीको चर्चा पछि सोहि क्षेत्रबाट बेर्ना ल्याएर उनीहरुले व्यवसायीक रुपमै खेति सुरु गरेका हुन ।

बोधिचित्त माला तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने गरेको छ । बोधिचित्त मालाको विरुवा समशितोष्ण भुभाग ४०० मि देखी २००० मिटर मा लगाउन सकिन्छ । यसलाई खास गरी माघ र फागुनमा रोप्नु उत्तम मानिन्छ । यसको वोटमा रोपेको ३÷ ४ वर्षदेखी दाना फल्न शुरु हुन्छ ।

बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फली रहेको प्रकार अनुसार ३ देखी ७ मुखे सम्मको मुल्य प्रती गोटा रु ४ सय देखी ४ लाख सम्म पर्छ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मुल्य हुन्छ ७ मिमी को १०८ गेडाको एक माला रु ४ लाख पर्छ भने साइज बढ्दै जाँदा मुल्य कम हुंदै जान्छ । सबभन्दा ठुलो साइजको माला भने पाथिमा बेचिन्छ । बजारमा १ पाथिको मुल्य रु २५ देखी ३५ हजार सम्म पर्छ ।

बौद्ध धर्मावलम्बीहरुले बोधिचित्तको १ सय ८ दाना जडित मालाले नाम जप्दा ठुलो पुण्य मिल्ने विस्वासका साथ यो माला खरीद गर्न थालेपछि एकाएक यसको मुल्य र महत्वमा बृद्धि भएको हो ।

वनस्पतिविद डा. केआर भट्टराईको समुहले लामो समय अनुसन्धान गरेर ‘जिजिफस बुद्धान्सीस’ नाम दिएको यो बोटमा स–साना दाना फल्छन । सयौं बर्ष देखि बौद्ध लामाहरुले यसलाई मालाको रुपमा प्रयोग गर्दै आएका थिए । पछिल्ला बर्षहरुमा भारत, चीन, सिंगापुर, जापान र कोरियामा समेत बुद्धचित्तको मालको माग बढेपछि सुन भन्दा मंहगो बन्न पुगेको हो । वनस्पति विज्ञानले नै नेपालमा मात्रै पाउने भनेर पुष्टि गरेको यो वनस्पति मुलुकको अमुल्य सम्पदा पनि हो ।

प्रतिक्रिया