बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा व्यापक धार्मिक संरचनाहरूको निर्माण

मंगलवार , आषाढ १२, २०८०

सिन्धुली– स्थानीय तहको निर्माणसँगै जिल्लामा व्यापक धार्मिक संरचनाहरूको निर्माण भएका छन् । पछिल्लो छ बर्षमा गाउँ–गाउँमा व्यापक रूपमा हिन्दु धर्मका मठ मन्दिर, बुद्ध धर्मालम्बीका चैत्य तथा गुम्वाहरू र कृष्चियन धर्मालम्बीको चर्चहरू व्यापक संख्यामा निर्माण भएका छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार समेतको लगानीमा धार्मिक संरचनाहरूको निर्माण भएका हुन् । सहर बजारका चल्तीका धार्मिक मठमन्दिरहरूमा मात्र होईन जिल्लाका ग्रामिण क्षेत्रमा समेत विभिन्न नाममा मठमन्दिरहरू निर्माण गरिएका छन् ।

जिल्लाका चलेका धार्मिक स्थलहरू कमलामाई मन्दिर, कमलामाई मन्दिर, शिद्धबाबा मन्दिर, मधुगंगा महादेव मन्दिर, कुशेश्वर महादेव मन्दिर लगायतका मुख्य धार्मिक स्थलहरूमा स्थानीय सरकारले बर्सेनी रकम खर्च गरिरहेका छन् । त्यस्तै गुम्बा तथा चर्च निर्माणमा पनि राज्यले बर्षेनी खर्च गर्दै आईरहेको छ । पछिल्लो समय जिल्लाका ग्रामिण क्षेत्रमा क्रिस्चियनहरूको व्यापक बृद्धि भएसँगै चर्च निर्माणका लागि समेत स्थानीय सरकारले व्यापक लगानी गर्ने गरेका छन् ।

धार्मिक पर्यटनको बिकास गर्ने भन्दै राज्यले अनुत्पादक क्षेत्रमा लगानि गरिरहेको सिन्धुलीका पुर्व प्रदेश सांसद बिनोद खडका बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राज्य धर्मनिरपेक्ष छ । तर, राज्यले नै धार्मिक संरचना निर्माणमा बर्षेनि अर्बौँ खर्च गरिरहेको छ । यो सुहाउँदो बिषय होईन ।”

गाउँ–गाउँमा विभिन्न नाममा मठमन्दिर तथा चर्चहरू निर्माण हुनुलाई धार्मिक आस्था बलियो हुँदै गएको मान्नुहुन्छ रामेश्वरधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कोईराला । उहाँ भन्नुहुन्छ, ‘समाजमा धार्मिक आस्था बलियो हुनु भनेको मानवता र सद्भाव बलियो हुनु हो , यस्ले सामाजिक सद्भाव र भातृत्वलाई अझ मजबुद्व बनाउदै लैजान्छ ।’ धर्म सहयोग, सद्भाव र एकताको प्रतीक भएको कोईरालाले बताउनुभयो ।

सरकारको लगानीमा मात्र नभएर सामुहिक तथा ब्यक्तिगत लगानीमा समेत धार्मिक संरचनाहरूको निर्माण हुने गरेका छन् । मृतक आफन्तको स्मृतिमा धार्मिक संरचना निर्माण गर्ने क्रम समेत बढिरहेको फिक्कल–२ का स्थानीय जयप्रसाद न्यौपाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धार्मिक संरचना निर्माणमा राज्यले मात्र होइन, ब्यक्तिले पनि लगानि गरिरहेका छन्, सामुहिक लगानिमा कुल देवताको मन्दिर बनाउने, कृष्चियनहरूले आफ्नै लगानीमा चर्च बनाउने क्रम बढिरहेको छ ।”

समाजमा धार्मिक सम्पदाहरूको बिकास हुँदै जानु सकारात्मक भएपनि धार्मिक आस्थाको नाममा अनुत्पादक क्षेत्रमा लगानी हुनु आर्थिक दृष्टिकोणले नकारात्मक रहेको पत्रकार कृष्णहरि घिमिरे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुँजि उत्पादनको क्षेत्रमा परिचालन हुनुपर्छ । राज्यको होस् वा ब्यक्तिको पुँजी अनुत्पादक क्षेत्रमा लगानी हुनु स्वभावैले राम्रो पक्ष होईन ।”

माओवादी जनयुद्वले केही समय धार्मिक आस्थामा विचलन ल्याएको भएपनि शान्तिप्रक्रियाको थालनीसँगै समाजमा धार्मिक आस्थाको बिकास र धार्मिक संरचनाहरूको निर्माणले गति लिदै गएको फिक्कल–२ का शंकर बहादुर भण्डारी बताउनुहुन्छ ।

प्रतिक्रिया