बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

बिजुली झ्याप्प, सिन्धुली प्रशासनको सेवा ठ्याप्प

सोमवार , आषाढ ११, २०८०

सिन्धुली– जिल्लाको दुधौली नगरपालिकाका रमेश थापा दिउँसो ३ बजे जिल्ला प्रशासन सिन्धुलीमा राहदानीकालागि फोटो खिच्ने लाईनमा पालो कुरिरहनुभएको थियो । थापाले बिहान ११ बजेदेखि आफ्नो पालो कुरिरहुनभएको थियो । तर, तीन घण्टा वित्दा समेत उहाँको पालो आएन । ‘तीन घण्टा भयो यसरी लाइनमा बसेको, खै अहिले सम्म पालो आएको छैन,’ उहाँले निराश हुदैँ भन्नुभयो ।

थापाको घर जाने तीन बजेको गाडी छुट्नै लागिसक्यो । उहाँ पार्सपोट बनाउने कि घर जाने भन्ने दोधारमा हुनुहन्थ्यो । ‘अझै कति बेला आउने हो पालो ? घर जाने होकि पार्सपोट बनाउने । यत्रो खर्च गरेर पार्सपोट बनाउन आएको यतिकै कसरी फर्किने ? फेरी भोलि त्यती नै खर्च हुन्छ,’ उहाँले भन्नुभयो । बत्ति आउने जाने भएकाले धेरै समय पालो कुर्नु परेको उहाँ सुनाउनुुहुन्छ । ‘बत्ति गएपछि सबै सेवा बन्द हुने रहेछ अनि कसरी पालो आउनु ? पाँच पटक भन्दा बढी बत्ती गइसक्यो, एक जनाको फोटो खिच्न आधा घण्टा भन्दा बढी लाग्ने,’ उहाँले भन्नुभयो ।

राहदानी बनाउनकै लागि फोटो खिच्ने लाइनमा बस्नु भएको कमलामाई नगरपालिका ९ भिमानका जित बहादुर कार्कीको पनि पिडा उस्तै थियो । उहाँ पनि बिहानैबाट फोटो खिच्न पालो पखिरहनु भएको छ । दुई घण्टा वित्दा पनि पालो नआएपछि उहाँ घर फर्किने सोचमा हुनुुहुन्थ्यो । ‘चार बज्नै लागि सक्यो, आज त पालो आउँदैन जस्तो छ । ११ जना पछि मात्रै मेरो पालो छ । राती भयो भने गाडि पनि पाइदैन, अब घर फर्किन्छु,’ उहाँले भन्नुभयो ।

रमेश र जित बहादुर जस्तै घण्टौँ पर्खेर पार्सपोटको लागि फोटो खिच्न पालो कुरेर बसेका युवाको समस्या एउटै थियो । उनीहरु घण्टौँ देखि पालो कुरिरहेका छन् । विद्युत बत्ती आउनेजाने गर्दा सेवा प्रवाहमा समस्या परेको एक कर्मचारीले बताउनुभयो । ‘बत्ती गएपछि सबै बन्द हुन्छ, फेरि अहिले सर्भर नै ढिलो चलेको छ । त्यसैले भिड भएको हो,’ उहाँले भन्नुभयो । विगत १५ दिन यस्तो समस्या रहेको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ब्याक पप ब्याट्रीमा समस्या आएको कारण बत्ती जाने वित्तिकै सबै सेवा बन्द हुने गरेको बताउनुभयो । उहाँले बजेट अभावको कारण ब्याट्री खरिद गर्न नसकेको बताउनुभयो । ‘हामीसँग अहिले बजेट छैन, त्यसैले ब्याट्री खरिद नगरेको हो । यो वर्ष बजेट विनियोजन गरेर ब्याट्री खरिद गर्ने योजनामा छौँ’, उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया