बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा स्थानीय सरकारको बजेट बिनियोजन 

सोमवार , आषाढ ११, २०८०

सिन्धुली– सिन्धुलीका स्थानीय सरकारले आईतबार निती, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । नेपालको संविधान–२०७२, स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहेर स्थानीय सरकारको हैसियतमा निती, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो ।

बजेट सार्वजनिक गर्ने स्थानीय सरकारले महत्वकांक्षी निती तथा कार्यक्रम अगाडि सारेका छन । बेरोजगार युवाहरुलाई स्थानीय स्तरमै रोजगारी दिने देखी कृषि उत्पादनलाई प्राथामिकता साथै कृषिमा अनुदान र स्वरोजगारका लागी उद्योग स्थापना लगायतका विषयमा बजेटले प्राथामिकता दिएको छ ।

स्थानीय तहले प्रस्तुत गरेको निती तथा कार्यक्रम र बजेटमा कृषि, शिक्षा, स्वास्थ्यलाई बिशेष प्राथामिकतामा राखिएको छ । कृषिलाई आधुनिकीकरण गर्ने, शिक्षालाई निशुल्क साथै प्रविधीमैत्री बनाउने र स्वास्थ्यलाई निशुल्क सर्वसुलभ गराउनुनका साथै स्वास्थ्य बिमालाई जिल्लाका नौँवटै स्थानीय तहले जोड दिएका छन् ।

स्थानीय सरकारसँग आन्तरिक आम्दानी अत्यन्तै न्यून र बजेट कमजोर भएपनि निती, कार्यक्रम र लक्ष्य भने महत्वकांक्षी राखिएको छ । प्रायः सबै स्थानीय सरकारको बजेटको पुँजीगत भन्दा चालु खर्चको अनुपात बढी रहेको छ भने संघ र प्रदेशको समपुरक अनुदान तर्फ नै बढि रकम खर्च गर्नुपर्ने बाध्यतामा स्थानीय सरकार रहेका छन् । कतिपय स्थानीय सरकारले घाटाको बजेट प्रस्तुत गरेका छन् ।

कमलामाई नगरपालिकाको बजेट १ अर्ब ३९ करोड

कमलामाई नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि १ अर्ब ३९ करोड ४१ लाख ३४ हजार ६ सय २९ रुपैया बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औँ नगरसभामा उपप्रमुख मन्जु देवकोटाले आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नुभएको हो । आउँदो आर्थिक बर्षमा नगरले कृषि, नागरिकको स्वास्थ्य, खेलकुद, पालिकाको प्रशासनिक भवन निर्माण, भौतिक पूर्वाधार, वातावरण संरक्षण, उद्योग, गरिबी न्युनिकरणका बिषयलाई प्राथमिकतामा राखेको छ ।

नगरको ब्यवस्थित प्रशासनिक भवन निर्माण, वडा कार्यालय निर्माण, वडा नं. ८, ९, १०, १३ र १४ को लागि लक्षीत गरि डम्पीङ साइड निर्माण, पर्यटन प्रवद्र्धनको निम्ती चदाहा टपुक्षेत्रमा ताल निर्माण, उद्योग वाणिज्य संघ सिन्धुलीसँग समन्वय गरि दमकल खरिद, खम्बेचौरमा प्याराफिट निर्माण, वडा नं. ६ मा अटोपार्क निर्माण, गौमति नमुना मावि, कमला मावि सिलामे र नवज्योति बहिरा माविमा छात्राबासको निर्माण, सिन्धुलीगढीमा बाल उद्यान निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

दुधौली नगरपालिकामा १ अर्ब ८ करोड बजेट

यस्तै, दुधौली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आईतवार १ अर्ब ८ करोड ३२ लाख ५६ हजार २ सय ४१ रुपैया बजेट विनियोजन गरेको छ । दुधौली नगरपालिकाको १७ औँ अधिवेशनमा नगरपालिकाका उपप्रमुख चन्द्र किशोर थारुले सार्वजनिक गर्नुभएको बजेटमा चालु तर्फ ७३ करोड ९६ लाख ५६ हजार २ सय ४२ रुपैँया अर्थात कुल बजेटको ६८ प्रतिशत बजेट बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ ३४ करोड ३६ लाख अर्थात कुल बजेटको ३२ प्रतिशत छुट्याइएको छ ।

नीति तथा कार्यक्रममा ‘समृद्धिकोको आधार कृषि प्रसार’ भन्ने नारा सहित कृषि उत्पादनका लागि बिभिन्न कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, वन तथा वातावरण, फोहोरमैला तथा बिपद् ब्यबस्थापनलाई प्राथमिकतामा राख्दै नगर उपप्रमुख थारुले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । साथै, पशु, शिक्षा, रोजगार लगायतलाई प्राथमिकतामा राखिएको छ ।

घ्याङलेखको बजेट ४६ करोड

यसैगरी, सिन्धुलीको घ्याङलेख गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार सभाको १३ औँ तथा अबिधेशनमा गाउँपालिकाका उपाध्यक्ष शंकर मान घलानले आर्थिक बर्ष ०८०/०८१ को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुभएको हो ।

आगामी आर्थिक बर्ष ०८०/०८१ को लागि ४६ करोड ५७ लाख ७५ हजार ६ सय ५८ रुपौयाको बजेट बिनियोजन गरिएको छ । जसमा पूँजीगत तर्फ २९ करोड १९ लाख २५ हजार ६ सय ५८ रुपियाँ र चालु तर्फ ४१ करोड २८ लाख ९६ हजार ८ सय १ रुपैयाँ रहेको उपाध्यक्ष घलानले बताउनुभयो ।

उपाध्यक्ष घालनले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, रोजगार तथा सामाजिक सुरक्षाका क्षेत्रलाई प्राथमिकता दिइएको छ । विकास तथा पूर्वाधारका क्षेत्रमा खानेपानी, सडक लगायतका भौतिक पूर्वाधारका कार्यक्रम समेत प्राथमिकतामा राखिएको उपाध्यक्ष घालनले जानकारी दिनुभयो ।

सुनकोशीमा ५८ करोड

यसैगरी, सिन्धुलीको सुनकोशी गाउँपालिकाले आर्थिक बर्ष आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो बर्षको दोस्रो अधिवेशन मार्फत गाउँपालिका उपाध्यक्ष कपिल कोइरालाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि निति कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले चालु तर्फ ४३ करोड ३२ लाख ४१ हजार अर्थात ७३ दशमलब ८८ प्रतिशत पुजिगत तर्फ १५ करोड ३१ लाख ५० हजार अर्थात २६ दशमलब ११ प्रतिशत गरि कुल बजेट ५८ करोड ६३ लाख ९१ हजार रुपैया बजेट प्रस्तुत गर्नुभएको छ ।

पालिकाले कृषिमा आत्मानिर्भर, आन्तरिक तथा बाह्य पर्यटको आर्कषण बढाइने, रोजगार सिर्जना गर्ने, गुणस्तरिय स्वास्थ्य, गुणस्तरिय शिक्षा, कृषकलाई मल बिउ शुनिश्चितता, स्वच्छ खानेपानी लगायतको निति कार्यक्रम ल्याएको छ ।

तिनपाटन गाउँपालिकाको बजेट ७९ करोड ९० लाख

यसैगरी, सिन्धुलीको तिनपाटन गाउँपलिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि निति कार्यक्रम र बजेट ल्याएको छ । उपाध्यक्ष धन बहादुर पुलामी ‘अशोक’ ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । अनुमानित आय वित्तीय समानीकरण अनुदान, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपूरक, विशेष अनुदानको बजेट सहित कुल ७९ करोड ९० लाख २३ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । पालिकाले यस कृषकहरुलाई ब्यवसायी तथा उद्यमशिल कृषि प्रणालीतर्फ उत्प्रेरित गर्न ‘तिनपाटनको शान, कृषि उद्यममा किसान’ कार्यक्रम ल्याएको छ ।

त्यस्तै, पशु तर्फ पशु बिमा कार्यक्रम, सहकारी उद्यमशिलता, रोजगार तर्फ ‘उद्यम मार्फत रोजगार, गर्वको आधार’, शिक्षा तर्फ ‘प्राविधिक बिद्यामा रोजगारी, तिनपाटनको छोराछोरी’, स्वास्थ्यमा ‘उद्यम सँगै जजिविका, प्याड उत्पादनमा स्वयमसेविका’, समावेशितार्फ ‘बर्तमानका बालक भविष्यका पालक’ लगायतका निति तथा कार्यक्रमहरु ल्याइएको छ ।

प्रतिक्रिया