सिन्धुली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम स्थापना दिवसका अवसरमा बिहिबार सिन्धुलीमा ७७ पटक घण्टी बजाइएको छ । जिल्लाको कमलामाई नगरपालिका ६ स्थित धुराबजारमा रहेको रास्वपा पार्टी कार्यालयमा एक्यबद्धताकालागि सात बजे ७७ पटक घण्टी बजाएर स्थापना दिवस मनाइएको हो । रास्वपाको केन्द्रिय कार्यालयले स्थापना दिवसको अवसरमा असार ७ गते, साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक एक्यवद्धताका लागि घण्टी बजाउन निर्देशन दिए बमोजिम सिन्धुलीमा पनि घण्टी बजाइएको जिल्ला संयोजक रमेश घिमिरेले जानकारी दिनुभयो ।
त्यसैगरि, रास्वपा सिन्धुलीले पहिलो वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा २४ जनाले कुल २४ पिन्ट रगत दान गरेको जिल्ला संयोजक घिमिरेले जानकारी दिनुभयो । साथै, वार्षिक उत्सवको अवसरमा सिन्धुली अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको थियो । सिन्धुली अस्पतालमा रहेका छ जना बिरामीलाई फलफुल वितरण गरिएको घिमिरेले बताउनुभयो ।

कमिटि गठनलाई तिव्रता दिदैँ रास्वपा सिन्धुलीः रवि लामिछाने नेतृत्वको रास्वपाले सिन्धुलीमा कमिटि गठनलाई तिव्रता दिएको छ । पार्टीले द्रुतगतिमा पालिका स्तरीय कमिटि गठन गरिरहेको सिन्धुलीको क्षेत्र नम्बर २ का समिती सदस्य अभिनाश बस्नेतले जानकारी दिनुभयो । रास्वपा सिन्धुलीले निर्वाचन मार्फत दुवै क्षेत्रमा निर्वाचन क्षेत्रिय समिति सदस्य चयन गरिसकेको छ । त्यस्तै, धिरेन तामाङको नेतृत्वमा तीनपाटन कमिटि गठन गरिएको बस्नेतले बताउनुभयो । अन्य पालिकामा पनि कमिटि गठनकालागि तिव्र रुपमा काम भइरहेको उहाँले जानकारी दिनुभयो ।