सिन्धुली – नेपाली सेनाको भवानी बक्स गणले चित्रकला प्रतियोगिता गराएको छ । जिल्ला स्थित कमलामाई नगरपालिका ७ ठुलिटारमा रहेको भवानी बक्स गणले सञ्चालन गरेको अन्तर स्कुल स्तरिय चित्रकला प्रतियोगितामा जिल्लाको भगवती अग्रेजी माध्यमिक विद्यालयका कृष्टिना खड्का प्रथम हुनु भएको छ ।
जिल्लाका आठ विद्यालयका १६ जना सहभागि रहेको प्रतियोगिताको दोस्रो स्थान साइनिङ मुन एकेडेमीका सुवास परियाले जित्नु भएको छ भने तेस्रोमा कमला एकेडेमी स्कुलकी आर्जु तामाङले जित्नु भएको छ । प्रथम हुनु भएको खड्काले ऐतिहासिक सिन्धुलीगढीको चित्र बनाउनु भएको थियो ।
प्रतियोगिताका विजेतालाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरण गर्दै गणका गणपति विमल वाग्लेले भवानी बक्स गण सिन्धुलीमा भर्खरै आएको जानकारी दिनुभयो । उहाँले नागरिक सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउन प्रतियोगिताले भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । गणपति वाग्लले प्रतियोगितामा हुने हारजित सामान्य भएकाले सहभागिता जनाउनुनै जित सरह भएको बताउनु भयो । उहाँले सबै प्रतिस्पर्धी विद्यार्थीले राम्रो चित्रकला प्रस्तुत गरेको भन्दै खुसी व्यक्त गर्नु भयो ।
चित्रकला प्रतियोगिताको मुल्यांकन विषयबस्तुको छनौट, विषयबस्तुको वर्णन लिखित मौखिक, रंग संयोजन, आकर्षणको आधार, आकारमा थप लगायको विवरण राखेर मुल्यांकन गरिएको थियो ।