बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

गर्मी बढेपछि सिन्धुलीको विद्यालय बन्द

आइतवार , जेठ २१, २०८०

सिन्धुली – सिन्धुलीमा अत्यधिक गर्मी बढेपछि कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कमलामार्य नगरपालिकाले जेठ २१ गते देखी २४ गते सम्म र दुधौली नगरपालिकाले विद्यार्थीलाई छ दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २६ गतेसम्म गर्मी बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद पोखरेलले आइतबार जारी गर्नु भएको सूचनामा कमलामाई नगरपालिका सिन्धुली अन्तरगतका सबै सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन जेठ २१ गते देखि जेठ २४ गते सम्मका लागि बन्द रहने उल्लेख गरिएको छ । विद्यालयले उक्त बिदा बर्षे बिदाबाट कट्टा हुने गरी व्यवस्थापन गर्नु पर्नेछ ।

यसैगरी दुधौली नगरपालिकाअन्तर्गत सामुदायिक, संस्थागत विद्यालयहरुमा वर्षे बिदाबाट कट्टी हुने गरी छ दिन बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिनेश अधिकारीले जानकारी दिनुभयो । अत्यधिक गर्मी भएका कारण विद्यार्थीलाई पठनपाठनमा कठिनाइ भएकाले दुधौली नगरपालिकाको मिति २०८०/०२/१९ गतेको निर्णयअनुसार वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । अहिले सञ्चालन भईरहेको कक्षा ११ को परिक्षा भने यथावत रहने सूचनामा उल्लेख गरिएको छ ।

गर्मिका कारण विद्यार्थीहरु पढ्नमा रुची नदेखाउने, घर फर्कने समयमा घाम चर्किसक्ने भएकोले स्वास्थ्यमा समस्या आउन सक्ने, कक्षा कोठामा पंखा लगायतको सुविधा नभएको र कतिपय विद्यालयको भवनमा जस्तापाताको छानो भएको लगायतका समस्यालाई मध्यनजर गरेर विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।

केहि दिन यता देखि अत्याधिक गर्मी बढेर पठन पाठनको वातावरण नै नबने अवस्था आएको थियो । दुधौली नगरपालिकामा ७८ वटा सामुदायिक विद्यालय रहेका छन् ।

सिन्धुलीको अधिकतम तामक्रम ३४ देखि ४१ डिग्रीको हाराहारीमा रहेको छ । जसका कारण अत्यधिक गर्मी महसुस गरिएको छ । एक सातायतो जिल्लामा गर्मी ह्वात्तै बढेको छ । सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन छाडेका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

 

प्रतिक्रिया