बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा बढ्दो सवारी दुर्घटना

शनिवार , जेठ २०, २०८०

सिन्धुली– जिल्लामा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार पछिल्लो चार बर्षमा १ सय ४८ जनाको सवारी दुर्घटनाको कारण मृत्यू भएको छ ।

सवारी दुर्घटनाका कारण जिल्लामा चार बर्षको अवधीमा ७ सय ६ वटा सडक दुर्घटनाबाट ४ सय ५५ जना यात्री संख्त घाईते भएका छन भने ८ सय ९२ जना सामान्य घाईते भएका छन । गत आर्थिक वर्षमा २ सय ८९ सवारी दुर्घटना भएका थिए भने चालु आर्थिक वर्षको हाल सम्म १ सय ३२ सवारी दुर्घटना भएका छन ।

बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग तथा मदनभण्डारी राजमार्गमा सवारी चापमा बृद्धि भएसँगै पछिल्लो समय सिन्धुलीमा सवारी दुर्घटनाको दर बृद्धि हुँदै गएको हो । पछिल्लो समय सवारी दुर्घटनामा देखिएको बढोत्तरीले एक प्रकारको त्रासदी नै उत्पन्न गराएको छ ।

सडकयात्रा गर्नुअघि सकुशल गन्तव्यमा पुग्न पाइन्छ कि पाइन्न भन्ने सवाल हरेक यात्रीको मनमा पैदा हुने र ईश्वर पुकारेर हिँड्नुपर्ने परिस्थितिको सिर्जनाले सर्वसाधारणदेखि राज्यका सरोकारवाला निकाय सम्मलाई झकझक्याएको छ । सवारी दुर्घटना न्यूनीकरण वा नियन्त्रणका लागि राज्य गम्भीर बन्नु अपरिहार्य रहेको कमलामाई–६ का दिपक मिश्र बताउनुहुन्छ ।

ग्रामीण सडकको दूरावस्था, गुणस्तरहीन सवारीसाधन, स्तरीय सवारीचालकको अभाव, सवारी नियमपालनामा चरम लापरबाही, कानुन कार्यान्वयन गराउने निकायको फितलोपन, यात्रुको न्यून चेतनास्तर नै सवारी दुर्घटनाको प्रमुख कारण रहेको मिश्रको भनाई छ ।

सडकका नाउँमा रेखा मात्र कोरिएका ग्रामीण सडक पछिल्लो समय ह्वात्तै बढेको र त्यसमा जथाभावी किसिमले बस, जिप, बोलेरो जस्ता सवारीसाधन यात्रुसेवाको रूपमा सञ्चालन गरिएको कारण पनि बेलाबेलामा भयानक दुर्घटनाहरु निम्तीने गरेका छन ।

राजनीतिक दल वा तिनका कार्यकर्ताले जश लिनका लागि बन–बुट्यान नै मासेर प्राविधिक परीक्षणबिना नै गाउँ–गाउँमा ‘सडक’ विस्तार गरिदिएका छन्, जसले हेर्दा सुविधा पुगेजस्तो देखिए पनि सारमा दुर्घटना र अकाल मृत्यु नै निम्त्याइरहेको नागरिक निगरानी सञ्जाल सिन्धुलीका अध्यक्ष बेदराज दाहाल बताउनुहुन्छ ।

व्यवसायीहरुको नाफामुखी प्रवृत्तिले जन्माएको अस्वस्थ प्रतिस्पर्धा, सवारीचालकको कच्चापन वा सवारीधनीसँगको असमझदारीबाट उत्पन्न तनावमा गाडी चलाउने संस्कार, ट्राफिक व्यवस्थापन गर्न खटिने निकायको लापरबाही, यात्रु स्वयम्को चेतनास्तरमा खडेरी र यी सबै पक्षप्रति दृष्टि पु¥याएर समुचित व्यवस्थापन गर्ने कार्यमा राज्यले ध्यान पुर्‍याउन सकेमा दुर्घटनाको जोखीम न्यूनिकरण गर्न सकिने दाहालले बताउनुभयो ।

बिभत्स दुर्घटनाका घटना सामुन्ने आएपछि ऐन–नियम परिवर्तन तथा पालनामा कडाइका बिषय आउने गरेका छन । सिट क्षमताभन्दा बढी यात्रु चढाउन नदिइने, सडकको स्तरअनुसारका सवारीसाधन मात्र सञ्चालनमा ल्याइने, ट्राफिक नियम पालनामा कडाइ गरिने कार्यको अझ प्रभावकारी बनाउन जरुरी रहेको सरोकारवालाहरु बताउछन ।

घटना हुँदा मात्र गम्भीर हुने तर अन्य समय अनुगमन पनि सुस्ताउने अवस्थाले पनी दैनिक जसो दुर्घटना बढ्दै गईरहेको छ । ग्रामीण सडक र निर्माणकार्यमा प्रयोग हुने सवारी साधनमा बालश्रमिकहरु राखेर सवारी साधन चलाउन लगाउँदा समेत दुर्घटना हुने गरेका छन ।

राज्यको निरीहताले दुर्घटना बढिरहेको छ यस्का लागी व्यवसायीको हितलाई समेत मध्येनजर राख्दै उनीहरूसँगको छलफल वा परामर्शबाट सवारीसाधनको अनुगमनमा कडाइ, रुट परमिट नलिएका साधनको तत्काल खारेजी, नियम उल्लंघन गर्नेलाई जरिवाना, क्षमताभन्दा बढी यात्रु बोक्नमा सख्त प्रतिबन्ध जस्ता प्रक्रियामा गइहाल्नु आवश्यक रहेको छ ।

प्रतिक्रिया