बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा जंगली हात्ति पिडितले पाए राहत

शुक्रवार , जेठ १९, २०८०

सिन्धुली– जंगली हात्तिको कारण पिडित भएका कमलाखोजबासीहरुले राहत रकम प्राप्त गरेका छन । पिडितहरुलाई पर्सा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराएको डिभिजन बन कार्यालय सिन्धुलीका सूचना अधिकारी हेम बहादुर थापाले बताउनुभयो ।

हात्तिको आक्रमणबाट मृत्यू भएका कमलामाई नगरपालिका–१३ का दण्डपाणी पौडेलको परिवारले संघीय सरकारको तर्फबाट रु १० लाख र बागमति प्रदेश सरकारको तर्फबाट रु १ लाख राहत रकम प्राप्त गरेको कार्यालयले जनाएको छ भने हात्तिको आक्रमणबाट भौतिक सम्पति क्षति भएका कमलामाई नगरपालिका वडा नं.–८, ९, १३ र १४ का ४३ परिवारलाई राहत रकम वितरण गरिएको सूचना अधिकारी थापाले जानकारी दिनुभयो ।

हात्तिको आक्रमणका कारण ज्यान गुमाएका, घाईते भएका तथा घर गोठ र अन्नबाली क्षति भएका परिवारलाई प्राविधिक मुल्याकंनको आधारमा न्यूनतम रु. ४ हजार देखी अधिकतम रु. १० हजार सम्म राहत रकम उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

हात्तिको कारण पिडित भएकाहरुले भने राज्यले दिने राहत रकम असाध्यै न्यून भएको बताएका छन । कमलामाई नगरपालिका–१३ का हर्क बहादुर खड्काले हात्तिको कारण भएको क्षतिको राहत रकम अत्यन्तै न्यून भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बर्षेनी हात्तिको आंतक सहनु परेको छ, भौतिक क्षति मात्र हैन मानवीय क्षति समेत ब्यहोर्नु परेको छ । राज्यले राहत त दिन्छ तर कनिकाछरे जस्तो राहत छ ।” जंगली हात्तिको कारण भएको क्षतिमा राज्यले दिएको राहत कम भएको र क्ष्तिको उचित मुल्याकंनको आधारमा राहत रकम बढाउनुपर्ने खड्काले बताउनुभयो ।

त्यस्तै कमलामाई नगरपालिका–८ का कुल बहादुर श्रेष्ठले राहत रकम भन्दा पनि हात्तिको स्थायी नियन्त्रणको उपाय राज्यले अवलम्बन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ हात्तिले गरेको क्षतिको राहत रकम भन्दा पनि हामीहरुलाई हात्ति नियन्त्रणको स्थायी उपाय चाहिएको छ, सधै त्रासमा बस्नुपर्ने बाध्यताको अन्त्य राज्यले गरिदिनु पर्यो ।” जंगली हात्तिको समस्या स्थायी रुपमा समाधान गर्न राज्य जिम्मेवार बन्नुपर्ने श्रेष्ठले बताउनुभयो ।

डिभिजन बन कार्यालयले क्षतिको प्राविधिक मुल्याकंन गरि पिडितको माग दावि तथा प्राविधिक मुल्याकंन अनुसार अधिकतम रु १० हजार सम्म राहत उपलब्ध गराउँदै आएको भएपनि पिडितहरुका लागी उक्त राहत रकम असाध्यै न्यून भएको पिडितहरुको गुनासो छ ।

प्रतिक्रिया