सिन्धुली– गत ९ र १० गते सिन्धुलीमाढीमा अराजक गतिविधि गर्ने पाँचजनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका वडा नम्बर ५ सिलामेकि २६ वर्षिय गंगा कुमारी गुरुङ श्रेष्ठको मृत्यु भएपछि अपराधिक उपद्रो क्रियाकलाप गरेको भन्दै पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।
गर्भवति महिलाको मृत्यु प्रकरणलाई लिएर सिन्धुली अस्पतालको आकस्मिक कक्ष, बहिरंग तथा अन्य भवनहरुमा समेत तोडफोड गर्दै बिरामी, चिकित्सक, नर्स लगायतका कर्मचारीहरुलाई आतंकति पार्दै काम अवरोध गरेको, विपी राजमार्गमा आवतजावत गर्ने सवारी साधनहरु माथि तोडफोड गरि क्षति पुर्याएको, डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुलाई घाईते बनाएको, प्रहरीको सवारी साधन तोडफोड गरेको, जिल्ला प्रशासन कार्याल परिसरको पर्खालमा रहेको फलामे घेराबार तोडफोड, चिकित्सक, राष्ट्रसेवक कर्मचारीहरुलाई अपमान तथा आक्रमण गर्ने पाँचजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । पक्राउ परेका सबैजना कमलामाई नगरपालिकाको रहेको प्रहरी उपरिक्षक सिलवालले बताउनुभयो ।
पक्राउ पर्नेमा कमलामाई नगरपालिका ५ घर भई ६ नम्बर वडास्थित रातमाटा ग्यारेजमा काम गर्ने २३ वर्षिया पुष्प थापा मगर, ५ नन्बर वडास्थित सिलामे बस्ने २८ वर्षिया उमेश श्रेष्ठ, ७ नम्बर वडास्थित माझिटार घरभई ६ नम्बर वडास्थित धुराबजार बस्ने ३३ वर्षिय सुनमाँया बल, ११ नम्बर वडास्थित भिरगाउँ घर भई ६ नम्बर वडास्थित रातमाटा बस्ने ३२ वर्षिय नेत्र बहादुर थापा मगर र भिरगाउँकै ३४ वर्षिय रत्न बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अपराधिक उपद्रोको कसुर बमोजिम जिल्ला अदालत सिन्धुलीबाट मंगलबार पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक सिलवालले बताउनुभयो ।
गत जेठ ९ गते गर्भवति श्रेष्ठ सिन्धुली अस्पतालमा उपचारकालागि भर्ना भएपछि चिकित्सकले गलत औषधि दिएका कारण मृत्यु भएको भन्दै आफन्त र स्थानियले विरोध गरेका थिए । प्रहरीले सिसिटिभि लगायत सामाजिक संजालमा आएको भिडियोहरु हेर्दै अराजक गतिविधि गर्नेलाई पहिचान गरि पक्राउ गरिरहेको श्रोतले बतायो ।
एक सातादेखि बन्द बाहिरंग सेवा संचालनमा आयो
गत १० गतेदेखि बन्द रहेको सिन्धुली अस्पतालको बाहिरंग (ओपिडि) सेवा संचालनमा आएको छ । मंगलबारदेखि ओपिडि सेवा संचालनमा आएको अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार ओपिडि टिकट वितरण समय भने परिवर्तन गरिएको छ । केहि दिनकालागि बिहान ९ बजेदेखि साढे ११ बजेसम्म टिकट वितरण गरिने श्रेष्ठले बताउनुभयो । यसअघि साढे १२ बजेसम्म ओपिडिको टिकट वितरण हुने गर्दथ्यो । उहाँले भन्नुभयो, “क्षतिग्रस्त भौतिक पुर्वाधारको मर्मत कार्य शुरु भएको र तोडफोड भएका औजार उपकरणको चेकजाँच कार्य सम्पन्न भइसकेको छ ।”
भौतिक पुर्वाधारको क्षतिले गर्दा अन्तरंग विभाग तथा शल्यक्रिया कक्ष हालकालागि संचालन गर्न नसकिएको श्रेष्ठले बताउनुभयो । सेवाग्राही पर्नजाने असुविधाप्रति अस्पताल प्रशासन क्षमाप्रार्थी रहेको जनाएको छ ।