बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

मरिणमा उर्गेन छ्योलिङ गुम्बाको भवन उदघाटन

बिहिवार , जेठ १८, २०८०

सिन्धुली – मरिण गाउँपालिका वडा नम्बर २ ठकान स्थित उर्गेन छ्योलिङ गुम्बाको भवनको उदघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात)ले बुधबार एक कार्यक्रमका बिच भवनको उदघाटन गर्नु भएको हो ।

२०४२ सालमा स्थानियले श्रमदान बाट निर्माण गरिएको गुम्बा ८ बर्ष अघि भूकम्पले पुर्ण रुपमा क्षति पुर्‍याएको थियो । संघिय सरकार र स्थानिय सरकारको लागतमा पुनःनिर्माण गरिएको गुम्बाको उदघाटन गरिएको हो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष मोक्तानले अघिल्लो कार्यकालमा गुम्बा निर्माणको लागि पहल गरेर अधुरै रहेकाले प्राथमिकताका साथ निर्माण सम्पन्न गरिएको बताउनुभयो ।

तामाङ जातीहरुको बाहुल्य बसोबास रहेको ठकानमा बर्षौ अघि श्रमदानबाट निर्माण गरिएको गुम्बा निर्माणमा ढिलाई भएको भन्ने गुनासो सम्बोधन गरेर निर्माणमा पहल गरिएको मोक्तानको भनाई छ । भौतिक निर्माणले मात्रै बिकास नहुँने बताउनुहुँदै अध्यक्ष मोक्तानले मरिणको सदरमुकामबाट ठकान सम्म जोडीने सडकको उचित ब्यबस्थापन गरिने बताउनुभयो ।

मरिण गाउँपालिकाले उर्गेन छ्योलिङ गुम्बा निर्माणको लागि २०७४ सालमा २ लाख १० हजार बजेट बिनियोजन गरेको ब्यबस्थापन समितीका अध्यक्ष लाल बहादुर घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार संघिय सरकारबाट २०७७ सालमा १० लाख र २०७८ सालमा १० लाख बजेट छुट्याएको थियो । मरिण गाउँपालिकाले बुद्धको मुर्ति खरिदको लागि २०७९ सालमा ५ लाख बजेट बिनियोजन गरी कुल २७ लाख १० हजार बजेटमा उर्गैन छ्योलिङ गुम्बाको निर्माण गरिएको अध्यक्ष घिसिङले बताउनु भयो ।

वडा नम्बर २ का वडा अध्यक्ष कमल बहादुर घिसिङले मरिण गाउँपालिकामा २०७२ सालको भूकम्पले माने,गुम्बाहरुमा क्षति भएको बताउनु भयो । सो गुम्बा निर्माणको लागि अघिल्लो कार्यकालमा पहल भएर पनि सम्पन्न नभएका भौतिक संरचना निर्माणका लागि मरिण गाउँपालिका समक्ष अनुरोध गर्नुभएको छ ।

उर्गेन छ्योलिङ गुम्बाको भौतिक संरचना निर्माण भएपनि गुम्बाका लामा बस्ने घर र शौचालय नहुँदा समस्या हुने स्थानियको गुनासो छ ।

२०७२ सालको भूकम्पले जिल्लाभर १ सय भन्दा बढि माने,गुम्बाको आंशिक तथा पुर्ण रुपमा क्षति पुर्‍याएको थियो । धेरैजसो माने,गुम्बाको पुननिर्माण भएपनि केहिको भने अझै पुननिर्माण हुन सकेको छ्रैन ।

प्रतिक्रिया