बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

रित्तिदैछन् गाउँका सामुदायीक विद्यालय

मंगलवार , जेठ १६, २०८०

सिन्धुली – सिन्धुलीमा ग्रामीण क्षेत्रका सामुदायीक विद्यालयहरु विद्यार्थी अभावका कारण रित्तिदै गएका छन भने सहरका निजी विद्यालयहरुमा विद्यार्थीको चाप बढ्दो अवस्थामा छ ।

सामुदायीक विद्यालयको शिक्षा निःशुल्क भएपनि गुणस्तरिय नभएको भन्दै अभिभावकहरुको रोजाई सहरको महंगो निजी विद्यालय तर्फ केन्द्रित हुने गरेका छन । घट्दो जन्मदर, बढ्दो बसाइँसराइ, बजारको विस्तार र निजीको प्रभाव लगायतका कारणले गाउँघरका स्कुलमा विद्यार्थी पाउन मुस्किल हुन थालेको छ ।

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुले हिजोआज विद्यार्थी अभावको समस्या झेल्न थालेका छन् । यस क्षेत्रका संस्थागत (निजी) विद्यालयमा पनि तुलनात्मक रुपमा विद्यार्थी संख्या न्युन हुँदै गएको पाइन्छ । विद्यार्थी संख्या घटेको भन्दै स्थानीय तहहरुले विद्यालय तह समायोजन (कक्षा घटुवा) र विद्यालय समायोजन (मर्ज) गर्न थालेका छन् ।

विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ ले समायोजनका आधारहरु तय गरेको छ । जस अनुसार, दुई वा सो भन्दा बढी विद्यालय बीचको पैदल दूरी ३० मिनेटभन्दा कम रहेको, हिमालमा १–३ कक्षामा ३० जना वा सोभन्दा कम, १–५ कक्षामा ५० जना वा सोभन्दा कम, ६–८ कक्षामा ३० जना वा सोभन्दा कम, ९–१० कक्षामा ३० जना वा सोभन्दा कम, कक्षा ११–१२ मा ३० जना वा सोभन्दा कम भएको अवस्थामा मर्ज गर्न सकिने उल्लेख छ ।

कार्यविधी अनुसार सिन्धुली जिल्लामा १–३ कक्षामा ४५ जना वा सोभन्दा कम, १–५ कक्षामा ७५ वा सोभन्दा कम, ६–८ कक्षामा ४५ वा सोभन्दा कम, ९–१० कक्षामा ४० र ११–१२ कक्षामा ४० वा सोभन्दा कम विद्यार्थी संख्या हुँदा समायोजन गर्न सकिने व्यवस्था छ ।

फिक्कल गाउँपालिका शिक्षा शाखा अधिकृत हरिलाल विश्वकर्माले भुगोलको कारण समायोजन गर्न गाह्रो भइरहेको बताउनुभयो । विद्यालय समायोजन गर्न समस्या छ । उहाँ भन्नुहुन्छ, “ विद्यालयहरुमा विद्यार्थी संख्या कम छन् तर समायोजन गर्दा विद्यार्थीहरु विद्यालय बाहिर हुने जोखिम रहन्छ ।”

हरेक वर्ष विद्यार्थी संख्या घट्दै गइरहे पनि विद्यालय बीचको दूरी र अप्ठ्यारो बाटो लगायतका कारण कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको शाखा अधिकृत विश्वकर्माको भनाइ छ ।

गोलन्जोर गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा पनि विद्यार्थी संख्या घटदै गइरहेको शिक्षा अधिकृत ठाकुर प्रसाद दाहाल बताउनुहुन्छ । पालिकाका ग्रामीण क्षेत्रमा पर्ने वडाका विद्यालयमा विद्यार्थी संख्या कम भएको कारण समस्या भइरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हरेक वर्ष १० देखि १५ प्रतिशत विद्यार्थी संख्या घट्दै गइरहेको छ ।” एउँटा विद्यालयदेखि अर्को विद्यालय जान साना बालबालिकालाई करिब एक घन्टा लाग्ने भएकाले समायोजन गर्न पनि सजिलो छैन । पालिकाका विद्यालयमा विद्यार्थी संख्या घटिरहेको उहाँले बताउनुभयो ।

विद्यालय समायोजन एवम् एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ मा “एक तहबाट अर्को तहको विद्यालयमा भर्ना भई उपल्लो कक्षाहरुमा पढाइलाई निरन्तरता दिन भौगोलिक विकटता भएका स्थानका बालबालिका उनीहरुको उमेर, विद्यालय आउ–जाउ गर्दा लाग्ने समय, विद्यालयहरु बीचको दुरी, सुरक्षा जस्ता पक्षबाट असम्भव भएका स्थानहरुका बालबालिकालाई लक्षित गरी उनीहरु सबैलाई पायक पर्ने स्थानमा आवासीय सार्वजनिक विद्यालय सञ्चालन गर्न” भनिएको छ ।

ग्रामीण क्षेत्रका अभिभावकमा घर बाहिर छोराछोरी राख्न सक्ने आत्मविश्वास छैन, त्यसबाहेक बालबालिकाले घरको काममा पनि केही सहयोग गर्छन् भन्ने सोचेर पनि अभिभावकहरु आवासीय विद्यालयमा आफना सन्तान राख्न चाहँदैनन् ।

विद्यार्थी संख्या न्युन हुनुको सोझो सम्बन्ध देशको जनसंख्या वृद्धिदरसँग छ । राष्ट्रिय जनगणना–२०७८ को तथ्यांक अनुसार सिन्धुलीको जनसंख्या वृद्धिदर ०.१२ प्रतिशत छ ।

सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या कम हुँदै गएकाले स्थानीय तहहरु गभ्भीर हुनुपर्ने स्थानीयहरु बताउछन । अंग्रेजी माध्यमबाट पढाउने, बसको सुविधा दिने, जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरी सामुदायिकमा भर्ना गर्नुपर्ने लगायतका अभियान सञ्चालन गर्नुपर्ने नागरिक निगरानी सञ्जाल सिन्धुलीका अध्यक्ष बेदराज दाहाल बताउनुहुन्छ ।

स्थानीय सरकारले यसरी उपाय नखोज्ने हो भने अब केही वर्षमा ग्रामिण क्षेत्रका विद्यालय रित्तिने दाहाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ्, “पालिकाले शैक्षिक गुणस्तर उकास्न र जनतालाई गाउँमा बस्ने वातावरण बनाउन काम नगर्ने हो भने अबको दशकमा स्कुल मात्रै होइन गाउँ नै रित्तिन्छन् ।”

“दुरदराजमा सरकारी तथ्यांक भन्दा औसतमा झण्डै आधा मात्रै विद्यार्थी छन् । शहरी क्षेत्र र बजार क्षेत्रमा फरक देखिँदैन तर ‘दुरदराज’ मा औसतमा ४० प्रतिशत विद्यार्थी संख्या अभिलेख भन्दा कम रहने गरेका छन सामुदायिकमा भर्ना गर्छन् तर पढाउन चाहिँ बजारको कुनै विद्यालयमा पढाइरहेका हुन्छन् । अनि कक्षा ८ को परीक्षादिन मात्र सामुदायिकमा पठाउने गरेका छन्” , एक शिक्षकले बताउनुभयो ।

गाउँका विद्यालयमा विद्यार्थी संख्या कम हुँदै जानुमा सतहमा देखिएभन्दा अरु पनि कारण रहेको अध्येताको भनाइ छ । प्राध्यापक नानीबावु घिमिरे आफ्नो अध्ययनमा विद्यार्थी घट्नुको मुख्य कारण स्थानीय तहमा रोजगारी नहुनु, बजार-शहर बनाउने सरकारको स्पष्ट नीति नहुनु, सामुदायिक विद्यालयमा पढाइ हुने भाषाप्रति आकर्षण घट्नु र जन्मदर घट्नु देखिएको बताउनुहुन्छ ।

“गाउँमा रोजगारी नहुँदा अभिभावक रोजगारीको खोजीमा अलिअलि बजार/शहरमा बसाइँ सरेका छन् । त्यस्ता क्षेत्रहरुमा विद्यार्थी अभावको समस्या धेरै छैन,” उहाँ भन्नुहुन्छ, “शहरीकरणबारे सरकारको स्पष्ट नीति नहुँदा जथाभावी बजार/शहर बनेका छन् । ती शहरहरुमा जथाभावी खुलेका बोर्डिङ स्कुल छन् । जहाँ अधिकांशको आकर्षण रहेको अंग्रेजी भाषामा पढाइ हुन्छ । त्यसपछि घट्दो जन्मदर अर्को मुख्य कारण हो ।”

प्रतिक्रिया