सिन्धुली – पहिले यस्तो समय थियो, घरमा आएका पाहुनालाई करुवामा पानी दिएर सत्कार गरिन्थ्यो । पित्तल वा तामाबाट बनेको करुवाबाट पानी पिउनुको आनन्द नै बेग्लै हुन्थ्यो । करुवा नभएको घर सायदै हुन्थ्यो ।
तर समय परिवर्तनसँगै करुवाको स्थान गिलासले ओगट्न थाल्यो । अहिले काँच, सिसा, प्लास्टिक वा स्टीलको गिलासमा पानी पिउने चलन छ । पहिले पहिले भोजभतेरमा समेत प्रयोग गरिने करुवाको प्रयोग अहिले पूजाआजा गर्नेबेलामा मात्रै सीमित छ भन्दा हुन्छ । कतिपय घरमा सजाउन मात्रै राखिएको देख्न सकिन्छ ।
सिन्धुलीमा भाँडा पसल सञ्चालन गर्दै आउनु भएका बिनेश श्रेष्ठले प्लास्टिक र काँचका गिलास र बोतल छ्याप्छ्याप्ती आउन थालेपछि करुवाको चलन हराउन थालेको बताउँनु भयो । “उहिले करुवा नहुने घर नै हुँदैथे । अहिले कति घरमा होलान्, तर सजाउन मात्रै राखिएको हुन्छ,” उहाँले भन्नुभयो, “प्रयोग भने काँच र प्लास्टिकका गिलास मात्रै हुन्छन् ।”
प्रयोग घटेपछि अहिले करुवाको बिक्री पनि खासै नहुने उहाँ बताउनु भयो । पहिलेको तुलनामा ७० प्रतिशत बिक्री कम हुने गरेको श्रेष्ठले सुनाउनुभयो ।
छोरीको विवाह हुँदा धेरैले गोडधुवा (उपहार) दिंदा करुवा नै रोज्ने गर्थे । अहिले बजारमा नयाँ नयाँ उपहार सामग्री पाइन थालेपछि यसको चलन पनि घट्दै गएको श्रेष्ठले बताउनु भयो । “उहिले बिहेको सिजनमा करुवा किन्न आउनेको ताँती लाग्थ्यो । अहिले जीवनशैलीमा परिवर्तन आएसँगै यो चलन हराउँदै गएको छ,” उहाँले भन्नुभयो ।
करुवा सफा गर्न पनि झन्झट लाग्न सक्छ । खरानीले सफा गर्नुपर्ने, गह्रौं हुनु, पैसा अलि बढी लाग्नेजस्ता कारणले पनि करुवाको प्रयोगमा कमी आएको हुन सक्ने श्रेष्ठले बताउनु भयो ।