सिन्धुलीमा मिसावटसहितको घरेलु मदिरा उत्पादन हुने क्रम बढ्दो छ । घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण नियन्त्रण नभएका कारण बर्सेनि विषाक्त मदिराका कारण ज्यान गुमाउने गरेको घटना प्रकाशमा आउने गरेका छन् । सामान्यतया घरेलु मदिरा उत्पादनको प्रक्रिया एउटै भए पनि त्यसमा प्रयोग गर्ने कच्चा पदार्थका आधारमा त्यसको गुणस्तर र विषाक्तता निर्भर हुने जानकारहरूको भनाइ छ । घरेलु मदिरा उत्पादनले सीमित केही व्यक्ति तथा कारोवारीलाई फाइदा भए पनि समग्रमा त्यसले देशको अर्थतन्त्र, सर्वसाधारणको स्वास्थ्य, सामाजिक मर्यादालगायतमा ठूलो क्षति गराइरहेको हुन्छ ।
अपराधिक घटना बढ्नुमा समेत मदिराको भूमिका रहेने गरेको छ । मुलुकमा तीन तहका सरकार छन् । घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण रोकथामका लागि प्राथमिक दायित्व स्थानीय सरकारले नै लिनुपर्छ । घरेलु मदिरा खासगरी विषाक्त मदिरा सेवन गरेका कारण ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहेको समयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले यसलाई नियन्त्रण गर्न ढिलाइ गर्नुहुँदैन ।