सिन्धुली – दुधौलीमा सडक कालोपत्रेको काम गुणस्तरहिन भएको भन्दै स्थानियले विरोध गरेका छन् । दुधौली नगरपालिका वडा नं. ९ दुधौली बजारबाट वडा नं. ८ को खोरभञ्ज्याङ जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन ।
ठेकेदार कम्पनीले लापरबाही ढंगले निर्माणका क्रममा गुणस्तरहीन कालोपत्रे प्रयोग गरेको स्थानीयले बताएका छन् । कालोपत्रे गरेको सडक सबै भत्किएको छ । स्थानीयका अनुसार कालोपत्रे गर्दा अलकत्राको स्थानमा मोवीलको धेरै प्रयोग गरेर कालोपत्रेको काम भएको छ । सडकलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक–पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ ।
सुझाव दिँदा समेत निर्माण कम्पनीले बेवस्ता गरेपछि स्थानीय आक्रोशित भएका हुन । सडकमा बिछ्याएको सवबेसमा गुणस्तरहीन सामग्री प्रयोग गरेर कालोपत्र लगाएको स्थानीयको आरोप छ ।
शहरी विकास भवन निर्माण कार्यालय सिन्धुलीको ४ करोड ५८ लाख ८७ हजार २ सय ८४ लागतमा दुधौलीबजार सालघारी खोरभञ्ज्याङ सडकको झण्डै दुई किलोमिटर भन्दा बढी सडक कालोपत्रे गर्ने जिम्मा रायमाझी आजादजि.यस.सी–श्री कृष्ण जेभिले पाएको थियो ।