सिन्धुली – गर्भवती महिलाको मृत्युको विषयलाई लिएर आक्रोशित भीडले तोडफोड तथा आगजनी गर्दा क्षति भएपछि बन्द भएको सिन्धुली अस्पतालको इमरजेन्सी सेवा शुक्रबारबाट संचालनमा आएको छ । भिडले तोडफोड गर्दा अस्पतालको इमरजेन्सी कक्षमा समेत क्षति भएपछि तीनदिनदेखि सेवाबन्द रहेको थियो ।
शुक्रबार राजनीतिकदल, जनप्रतिनिधि, सुरक्षाकर्मी, विद्यार्थी संगठन, कर्मचारी, भातृ संगठन, नागरिक समाजलगायतको सहभागितामा अस्पतालको सरसफाई गरिए पछि इमरजेन्सी सेवा सुचारु गरिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिश चन्द्र ढकालले जानकारी दिनुभयो ।
गत मंगलबार गर्ववती महिलाको मृत्युको बिषयमा अस्पतालमा आक्रोशित भीडले आक्रमण गर्दा इमर्जेन्सी कक्ष, ओपिडी, क्यान्टिन, औषधीपसल, सामुदायिकआँखा अस्पतालमा क्षतिपुगेको थियो । अस्पतालका स्वास्थ्य सेवाहरू नियमित सुचारु गर्न तोडफोड पछि भएकाक्षति, सिसाका टुक्राहरू सामूहिक रूपमा हटाइएको अस्पतालका अध्यक्ष ढकालले बताउनुभयो ।
कमलामाई नगरपालिका–५ सिलामेकी २६ वर्षीया गंगाकुमारी गुरुङ श्रेष्ठको प्रसूति गराउने क्रममा मृत्यु भएपछि आक्रोशित भीडले मंगलबार र बुधबार अस्पतालमा तोडफोड तथा आगजनी गरेकाथिए । अस्पतालमा तोडफोड हुँदा अस्पतालका झ्याल, ढोका, होडिङबोर्ड, फ्रिज, सवारी साधन, इ–हाजिरी मेसिन, तातोचिसो पानीखाने मेसिन र स्ट्रेचर ट्रलीको क्षतिभएको अध्यक्ष ढकालको भनाइ छ । अस्पतालमा ६ लाख ३६ हजार बराबरको क्षतिभएको प्रहरीले प्रारम्भिक मूल्यांकन गरेको छ ।