सिन्धुली– सिन्धुलीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन थालेका छन् । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगर तथा गाउँसभामा पेस गरिसक्नुपर्ने छ ।
यसैका लागि बजेट निर्माण अघि रायसुझाव संकलन थालिएको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वति सुनुवारले बताउनुभयो । बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सुझाव माग गरिएको उहाँको भनाइ छ । यही जेठ २० गतेभित्र रायसुझाव पेस गर्न पालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।
जिल्लाका नौँ वटौ पालिका यतिबेला नीति, कार्यक्रम र बजेटको पूर्व तयारीमा जुटेका छन् । उनीहरूले स्थानीयसित रायसुझाव माग गरेका छन् । पालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ फरक बनाउन रायसुझाव माग गरिएको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले बताउनुभयो ।
नगरपालिकाले प्राथमिकताका आधार तोकेर सम्बन्धित विषयमा रायसुझाव माग गरेको छ । कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरी पालिको रायसुझाव माग गरेको ति तथा कार्यक्रम आवश्यक पर्ने हो सोही अनुसार सुझाव माग गरिएको मेयर पोखरेलले बताउनुभयो । “पालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ”, उहाँले भन्नुभयो, “यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छौँ ।”
आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा मुख्य गरि रोजगार सृजन गर्ने खालका विषयलाई यहाँका पालिकाले प्राथमिकता दिन लागिएको छ । आर्थिक क्रियाकलापमा नागरिकलाई जोड्दै विकास निर्माणका कामलाईसमेत अघि बढाउने विषय प्राथमिकतामा पर्ने मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्ताङले बताउनुभयो । कृषि, पर्यटन, लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने खालका विषय प्राथमिकताका रुपमा रहेने उहाँको भनाइ छ ।