बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

अस्पताल तोडफोड गर्नेलाई कार्वाही गरिने

शुक्रवार , जेठ १२, २०८०

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ५ सिलामेकी गंगा गुरुङ श्रेष्ठको मृत्युपछि सिन्धुली अस्पताल तोडफोडमा उत्रिएका स्थानियमाथि कानुनी कार्वाही हुने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, सिन्धुली अस्पताल व्यवस्थापन एवं स्वास्थ्यकर्मीहरु र सुरक्षा निकायका प्रमुखहरु सम्मिलित बैठकले अस्पताल तोडफोड गर्ने, स्वास्थ्यकर्मी माथी दुव्र्यवहार गर्ने, सामाजिक संजालमा घटनालाई अतिरंजित गर्दै स्वास्थ्यकर्मीको चरित्र हत्या जस्ता क्रियाकलापहरु गर्नेलाई कानुन बमोजिम कार्वाही गर्ने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरी प्रचलित कानून वमोजिम कारवाही गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि गिरीले जानकारी दिनुभयो ।

बैठकमा प्रसुति हुन नसकी मृत्यु हुनुभएको गंगा गुरुङ श्रेष्ठ प्रति श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो । साथै, राजनीतिक दल विशेषका कोही नेता, कार्यकर्ता तोडफोड, दुव्र्यवहार, चरित्र हत्या लगायतका कार्यमा संलग्न भएको भए सम्बन्धित राजनीतिक दलले आफ्नो दलको तर्फबाट समेत कारवाही गर्ने सहमति भएको छ ।

सर्वपक्षिय बैठकले अस्पतालको सरसफाई र मर्मत सुधार गरी आकस्मिक अवस्थाका विरामीका लागि सेवा पुर्‍याउन यथाशिघ्र आकस्मिक सेवा संचालन गर्ने निर्णय गरेको छ । साथै, मर्मत र सरसफाईपछि विरामी भर्ना र बहिरंग लगायतका सेवाहरु संचालनमा ल्याउने निर्णय भएको सूचना अधिकारी गिरीले बताउनुभयो । गिरीका अनुसार अस्पताल सरसफाइ गर्न राजनीतिक दल, नागरिक समाजवाट अस्पताल र सुरक्षाकर्मीको समन्वयमा स्वंयमसेवक परिचालन गरिने छ । अस्पतालमा हुनसक्ने अराजक गतिविधिलाई निरुत्साहित गर्न र समस्याको दीर्घकालिन समाधान गर्न राजनीतिक दल एवं नागरिक समाजले आवश्यक पहल गर्ने निर्णय भएको गिरीले बताउनुभयो ।

यहि मिति २०८० जेठ ९ र १० गते हाम्रो सिन्धुली अस्पतालमा भएको घटना प्रति हाम्रो ध्यान गम्भिर ढंगले आकर्षित भएको छ । मिति २०८० जेठ ९ गते दिउँसो अस्पतालमा प्रसुति सेवाका लागि भर्ना भएका महिला स्व. गंगा कुमारी गुरुङ श्रेष्ठको अस्पतालबाट रिफर भई अन्य अस्पतालमा लैजाने क्रममा बाटोमा दुःखद निधन भएकोमा उहाँ प्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

तीन राजनैतिक दलको संयुक्त विज्ञप्ति

सिन्धुलीमा क्रियाशिल तीन राजनैतिक दलले संयुक्त विज्ञप्ति निकाल्दै अस्पताल तोडफोड गर्नेमाथि कार्वाही गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरको छ । नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेल, नेकपा एमालेका सचिव नारायण बराल र माओवादी केन्द्रका सचिव ज्वालाप्रसाद न्यौपाने (पुकार) ले जारी गरेको संयुक्त विज्ञप्तिमा उत्तेजित जमातले गरेको तोडफोडको भत्र्सना गरिएको छ । “सिन्धुलीमा उत्तेजित जमातले गरेको तोडफोडको हामी घोर भत्र्सना गर्दछौँ । उक्त तोडफोड कार्यमा संलग्न व्यक्तिको शिघ्र पहिचान गरी कडा कानुनी कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्दछौँ ।”, विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, विज्ञप्तिमा उक्त घटनाबाट अस्पतालमा भएको क्षतिलाई पुनःनिर्माण गराई अस्पताल पुर्ववत रुपमा संचालन हुने वातावरण बनाउन स्थानिय, प्रदेश र संघिय सरकारलाई अनुरोध गरिएको छ । तीन दलले सिन्धुली अस्पतालमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई यथासिघ्र कामकाजमा फर्कि जनताले पाउनुपर्ने अत्यावश्यक स्वास्थ्य सेवालाई सुचारु गरिदिन आग्रह समेत गरेको छ ।

विरामीको मृत्यु भएको सन्दर्भमा छानविन गर्न बुधबार गठित समितिको प्रतिवेदन अनुसार सिघ्र कामकारवाही अघि बढाउन सम्बन्धित पक्ष समक्ष तीन दलले माग गरेको छ । विज्ञप्तिमा आगामी दिनमा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा अराजक गतिविधि र सार्वजनिक सम्पतिको क्षति गराउने कार्य नगर्न नगराउन जिम्मेवार पक्षहरु समक्ष आव्हान गरिएको छ ।

मृतक श्रेष्ठको आफन्त र स्थानियले जिल्ला अस्पताल सिन्धुलीको लापर्वाहीका कारण गर्भवति महिलाको मृत्यु भएको आरोप लगाएका छन् । स्थानियले तोडफोड गर्दा झण्डै एक करोडको क्षति पुगेको जिल्ल अस्पताल सिन्धुलीको व्यवस्थापन समितिका अध्यक्ष शतिश ढकालले बताउनुभयो ।

बुधबार व्यवस्थापन समिति र पिडित पक्षबिच तीन बुदेँ सहमति भएको थियो । छानविन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गरिने निर्णय भएपछि सहमति जुटेको थियो ।

प्रतिक्रिया