सिन्धुली अस्पताल विगत दुई दिनदेखि तनावग्रस्त भएको छ । गर्भवति महिलाको मृत्युपछि आक्रोशित स्थानियले तोडफोड र हुलहुज्जत गर्दा अस्पतालमा कार्यरत चिकित्सकले असुरक्षित महशुस गरेका छन् । अस्पतालभित्रै प्रवेश गरि तोडफोड भएपछि मानसिक तनावमा परेको चिकित्सकहरुले बताएका छन् । उक्त घट्नापछि असुरक्षित महशुस गर्दै डाक्टहरुले सेवा प्रवाह नगर्ने बताएका छन् । आकस्मिक तथा बहिरंग सेवा प्रवाह नहुने भएपछि बिरामी चिन्तित देखिएका छन् । तसर्थ, डाक्टरहरुलाई चिढाउने भन्दा पनि छलफल गरि नयाँ सिराबाट समाधान खोज्नतर्फ जिल्ला प्रशासन कार्यालय र अस्पताल प्रशासन केन्द्रित हुन जरुरी छ ।
गर्भवति महिलाको मृत्यु प्रकरणका बारेमा छानबिन गर्न समिति गठनकालागि प्रक्रिया अघि बढाइएको छ । केहि दिनमै छानविन समितिले सत्यतथ्य बाहिर ल्याउनेनै छ । तर, अस्पतालमा कार्यरत कर्मचारीहरुलेनै सेवा प्रवाह नगर्ने बताएपछि अवस्था झनै जटिल बनेको छ । सर्वप्रथम, डाक्टरहरुले निर्धक्क तरिकाले सेवा दिन सक्ने वातावरण सिर्जना गर्नतर्फ जिल्ला प्रशासन कार्यालय गम्भिर हुन जरुरी छ । त्यस्तै, अस्पताल व्यवस्थापन समितिले पनि अस्पतालमा कार्यरत कर्मचारीलाई सुरक्षाका सवालमा विश्वस्त बनाउन भुमिका खेल्न आवश्यक छ ।
जिल्ला प्रशासन कार्यालयको भुमिका कमजोर हुँदा अस्पतालमा कार्यरत कर्मचारीले असुरक्षित महशुश गरिरहेका छन् । अस्पतालका कर्मचारीलाई सुरक्षाको प्रत्याभुति दिलाई काममा फर्कने वातावरण सिर्जना गर्नतर्फ सरोकारवाला निकायले विशेष ध्यान दिन आवश्यक छ । त्यसैगरि, जिल्ला अस्पताल सिन्धुलीमा देखिएको विकृति र कुशासनको अन्त्य गर्दै जिल्लावासिलाई गुणस्तरीय सेवा दिन जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।