सिन्धुली– गर्भवति महिलाको मृत्यु प्रकरणपछि मृतकका आफन्त र स्थानियले तोडफोड गरेपछि जिल्ला सिन्धुली अस्पताल अनिश्चितकालकालागि बन्द भएको छ । अस्पतालमा कार्यरत १४ जना डाक्टरले जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई बोधार्थ दिदै सिन्धुली अस्पताललाई सामुहिक निवेदन बुझाउदैँ कुनैपनि सेवा प्रवाह गर्न नसक्ने अवस्था रहेको उल्लेख गरेका छन् ।
सुत्केरी महिलाको मृत्यु पश्चात भएको अस्पतालको भौतिक क्षति तथा स्वास्थ्यकर्मीको मानशपटलमा पुग्न गएको असरका कारण स्वस्थ तरिकारले बिरामीको उपचार गर्न सक्ने क्षमता नआइसकेको हुँदा मानसिकरुपमा स्वस्थ नभएसम्म आकस्मिक तथा बहिरंग सेवा प्रवाह गर्न नसक्ने डाक्टरहरुले निवेदनमा उल्लेख गरेका छन् । साथै, डाक्टरहरुले कुनै प्रशासनिक दबाब आएमा सामुहिक राजिनामा दिने चेतावनि दिएका छन् ।
जिल्लाको कमलामाई नगरपालिका ५ सिलामेकि गंगा गुरुङ श्रेष्ठको मृत्यु भएपछि आक्रोशित स्थानियले जिल्ला अस्पतालमा तोडफोड गरेका थिए । आकस्मिक कक्षमै पनि तोडफोड भएको र जिल्ला प्रशासनले सुरक्षा दिन नसकेको कारण आफूहरु विक्षिप्त भएको एक डाक्टरले सिन्धुली सौगातलाई बताए । नाम नखुलाउने शर्तमा ती डाक्टरले भने, “अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिमाथिनै आक्रोशित भिड जाई लाग्दा समेत प्रशासन, प्रहरी र सुरक्षा निकायले सुरक्षा दिन सकेन । ज्यानको जोखिम मोलेर सेवा दिन सकिन्न ।” यता, अस्पतालमा कार्यरत नर्सहरुले पनि सेवा प्रवाहका विषयमा छलफल गरिरहेको श्रोतले बताएको छ ।
जिल्ला अस्पताल सिन्धुलीमा प्रहरी तैनाथ गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उमेश प्रधानका अनुसार डाक्टरहरुले बुझाएको सामुहिक निवेदनका बारेमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालसँग छलफल भइरहेको छ ।
