सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ५, सिलामेकि गंगा गुरुङ श्रेष्ठको मृत्यु पश्चात आन्दोलनरत आफन्त र जिल्ला अस्पताल सिन्धुलीको व्यवस्थापन समितिबिच सहमति जुटेपनि आन्दोलन रोकिएको छैन । जिल्ला अस्पताल सिन्धुलीको लापर्वाहीका कारण गर्भवति श्रेष्ठको मृत्यु भएको भन्दै स्थानियले सडक बन्द गरेपछि सिन्धुली प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । हालसम्म कतिवटा अश्रुग्याँस प्रहार भयो भन्ने एकिन तथ्य आएको छैन । आफन्त र स्थानियले मंगलबारदेखि विरोध गर्दै आएका थिए । पिडित पक्षले आज बिहान विपी राजमार्ग बन्द गरेकोमा सहमति जुटेपछि राजमार्ग १५ मिनेटकोलागि संचालनमा आएपनि पुनः अवरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बुधबार बिहान बसेको सर्वपक्षिय बैठकले ३ बुँदे सहमति जुटाएको थियो । सहमति अनुसार उक्त घटनामा के कसो भएको हो, सो को सत्य तथ्य छानविन गर्न छानविन समिति गठन गरिदिन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिश ढकालले बताउनुभयो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट दुईजना, जिल्ला अस्पताल सिन्धुलीबाट एकजना र पिडित पक्षबाट आमन्त्रित प्रतिनिधि एकजना सहित चारजनाको समितिले गर्भवति मृत्यु प्रकरणका सबै प्राविधिक पक्षहरु अध्ययन गरी प्रतिवेदन पेश गर्ने ढकालको भनाई छ ।
त्यसैगरि, सिन्धुली अस्पताल व्यवस्थापनबाट अस्पतालका आन्तरिक सुधारतथा सम्बद्ध स्वास्थ्यकर्मीहरुको व्यवहारगत पक्षमा सुधारका कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ । अस्पताल सबैको साझा सम्पत्ति रहेकाले स्वास्थ्यकर्मीको मनोवल उच्च राख्दै र पिडितपक्षलाई पुग्न गएको अपुरणिय प्रति गम्भिर वन्दै पिडित पक्षले विरोध र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको अध्यक्ष ढकालले बताउनुभयो । ढकालका अनुसार मृतकको आफन्तले शव बुझि अन्त्येष्टि गर्ने सहमति भएको थियो ।
छलफलमा पिडित पक्षको तर्फबाट मृतकका जेठाजु सोम बहादुर श्रेष्ठ, मृतकका काका तुलबहादुर गुरुङ र सिन्धुली अस्पतालको तर्फबाट सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिश ढकाल, मेडिकल सुपरिटेन्डेन्ट उमेश प्रधान सहभागि रहेको थियो । कमलामाई नगरप्रमुख उपेन्द्र कुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल, पूर्व स्वास्थ्य मन्त्री एवं राजनीतिकर्मी प्रदिप कुमार कटुवाल, पूर्व प्रदेशसभा सदस्य एवं राजनीतिकर्मी विनोद खडका, वडा नं ७ का अध्यक्ष कर्ण घिसिङको रोहवरमा सहमति जुटेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।