सिन्धुली– जिल्ला अस्पताल सिन्धुलीमा गर्भवती महिलाको मृत्यु भएपछि स्थानियले आन्दोलन गरेका छन् । उपचारको क्रममा कमलामाई नगरपालिका ५ को गंगा गुरूङ श्रेष्ठको मृत्यु भएपछि आफन्तले तोडफोड गर्दै विरोध जनाएका छन् । डाक्टरले गलत ओेैषधि प्रयोग गर्दा गर्भवती महिलाको मृत्यु भएको आफन्तको दावि छ । गर्भवति महिलालाई सिन्धुली अस्पतालमा उपचारको क्रममा भेन्टिलेटरमा राखि उपचार गर्नुपर्ने भन्दै बर्दिवास रिफर गरिएको थियो । गर्भवति महिलाको बाटोमा नै मृत्यु भएको थियो ।

मृतक गर्भवती महिला उपचारकोलागि बिहान १० वजे हिँडेर नै अस्पलाल आएको आफन्तले बताएका छन् । सिन्धुली अस्पतालका डाक्टरले गलत ओैषधि ईन्जेक्सन लगाईदिएकोले मृत्यु भएको वर्दिवासका डाक्टरले वताएको मृतकको आफन्तले बताएका छन् । लापर्वाही गर्ने डाक्टरलाई कार्वाही, मृतकका आफन्तलाई उचित क्षतिपुर्तीको माग गर्दै स्थानिय साथै आफन्तले जिल्ला अस्पताल सिन्धुली आसपासको क्षेत्रमा तीन घण्टासम्म आन्दोलन गरेका थिए । आक्रोशित भिडले अस्पताल र आँखा अस्पतालमा क्षति पुर्याएका छन् । आक्रोशित भिड नियन्त्रण गर्न खोज्दा प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक रामभक्त भट्टराई सामान्य घाइते भएको एसपि सिलवालले जानकारी दिनुभयो ।

प्रहरीले भिड नियन्त्रण गर्न ग्याँस सेल फायर गरेको थियो । राती ८ बजेदेखि जम्मा भएको भिडलाई नियन्त्रणमा लिन सिन्धुली प्रहरीलाई हम्मेहम्मे भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मृतकको आफन्त, अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनबिच छलफल गरि आक्रोशित जमातलाई थाम्थुम पारिएको थियो । प्रहरी उपरिक्षक सिलवालका अनुसार मंगलबार राती भएको छलफलमा सत्यतथ्य छानविन गर्ने सहमति सहित बुधबार बिहान ८ बजे पिडित पक्ष र अस्पतालका प्रतिनिधिवीच पुनः बैठक बस्ने छ । छानविन समिति गठन गरि छानविन प्रतिवेदन अनुसार कानुनि कार्वाही अघि बढाइने एसपि सिलवालले जानकारी दिनुभयो । अस्पतालले घटनाको बारेमा कुनै ओैपचारिक धारणा सार्वजनिक गरेको छैन ।


