सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ३ पिर्थेको मिना स्याङतानको घरमा धारा जोडेको चार वर्ष भयो । तर, धारामा आजसम्म पानी आएको छैन । खानेपानी लिन उहाँ झण्डै एक घण्टा हिँड्नुहुन्छ । “चार वर्ष भयो धारा जोडेको, खै पानी आज सम्म आएको छैन । पानीको धेरै समस्या छ”, उहाँले भन्नुभयो । स्याङतानलाई अब त घरको धारामा पानी आउँछ भन्ने आश नै छैन । धारा जडान गरेको चार वर्ष हुँदा पनि पानी नआउँदा पिर्थेका स्थानिय आक्रोसित भएका छन् ।
सोहि स्थानका सुर्य तामाङ्ग स्थानिय सरकारले पानी ल्याउन व्यवास्ता गरेको गुनासो गर्नुहुन्छ । खानेपानीको धारा जडानका लागि १५ दिन सम्म श्रमदान गरे पनि चार वर्ष बितिसक्दा सम्म धारामा पानी नझरेको भन्दै उहाँले सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “१५ दिनको काम छोडेर धारामा जडान गर्न श्रम गरौँ । घरघरमा पानी आउँछ भनेर दिनरात काम गरियो, पानी भने आएन । गाउँपालिकाले पनि वास्ता गरेको छैन । बारम्बार भन्दा पनि हाम्रो माग सुनूवाई भएको छैन ।”
पानी नआएपछि धारामा खिया लाग्नुका साथै पाइप हराउन लागेको स्थानिय पंचलाल तामाङ्ग बताउनुहुन्छ । “यी हेर्नुन, धारामा सबै खिया लागि सक्यो”, धारा देखाउँदै उहाँले भन्नुभयो, “पाइप कता हो ? पाइप पनि सबै भाचिने, हराउने भइसक्यो । अब त पानी आउने भयो भने फेरि धारा बनाउनु पर्ला ।” पिर्थेका २२ घरधुरीको घरघरमा धारा जडान भएको छ । मरिण गाउँपालिकाको झण्डै ७ लाख लागतमा पानी ट्यांकी निर्माण र २२ घरधुरीको घरघरमा धारा जडान गरेको थियो । धारा जडान भएपनि हाल सम्म धारामा पानी आएको छैन ।
विद्युतीय ट्रान्सफर्मर नहुँदा पानी तान्ने मोटर चल्न नसकेको कारण धारामा पानी नआएको मरिण गाउँपालिकाका प्रमुख प्रशासयि अधिकृत ओमबहादुर दर्जीले बताउनुभयो । गाउँपालिकाले सो ठाउँमा ट्रान्सफर्मर राख्नका लागि विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । गाउँपालिकामा रहेको पुरानो ट्रान्सफर्मर मर्मतका लागि जनकपुर पठाइसकेको र केहि दिनमा ट्रान्सफर्मर आउने उहाँ बताउनुहुन्छ । “हामीले गाउँपालिकामा रहेको पुरानो ट्रान्सफर्मर मर्मत गर्दै छौँ । ट्रान्सफर्मर मर्मतका लागि जनकपुर पठाइसकेका छौँ । केहि दिनमा ट्रान्सफर्मर बनेर आएपछि सो क्षेत्रमा राखिने छ र त्यहाँ समस्या समाधान हुने छ ,” उहाँले भन्नुभयो । हाल पिर्थेमा विद्युतीय ट्रान्सफर्मर छैन । ट्रान्सफर्मर नहुदा कम भोल्टेजको बत्ति आउने गर्दछ ।