सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका कार्यालयले किशोरीहरुलाई प्रोत्साहन गर्नका लागी कक्षा ११ मा अध्यनरत छात्राहरुलाई साइकल र अविवाहीत स्नातक तह उत्तिर्ण छात्रालाई १ लाख रुपैयाँ वितरण गरेको छ । शनिवार एक औपचारिक कार्यक्रमका बिच कक्षा ११ अध्ययनरत १ सय ६० छात्रालाई जनही एक÷एक वटा साईकल र अविवाहीत स्नातक तह उत्तिर्ण पाँच जना किशोरीहरुलाई जनहि एक/एक लाख रुपैयाँ नगद वितरण गरेको हो ।
उच्च शिक्षा अध्ययनका लागि छात्राहरुलाई विद्यालयसम्म आउन जान सहज होस भन्ने उद्देश्यले साइकल वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले जानकारी दिनुभयो । “पालिका भित्र रहेका दुई उच्च माध्यमिक विद्यालयहरु छन् । ति विद्यालयमा अध्ययनरत १ सय ६० जना विपन्न, दलित, आदिवासी जनजाती छात्राहरुलाई पहिलो चरणमा साइकल वितरण गरिएको हो,” मोक्तानले भन्नुभयो ।
आफु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भई सपथ ग्रहण गरेको एक वर्ष पुरा भएकै दिन आफ्नो प्रतिबद्धता अनुसार साइकल वितरण गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो । आफ्नो कार्यकाल एक वर्ष पुरा भएको अवसरमा अध्यक्ष मोक्तानले आफ्ना १सय १ महत्वपूर्ण उपलब्धिहरू समेत प्रस्तुत गर्नुभएको थियो ।
मरिण गाउँपालिकाले बिवाह नगरी पढाईलाई निरन्तरता दिँदै स्नातक उतिर्ण मन कुमारी कडेल, चित्रकुमारी कडेल, रजनी मैनाली, सुकृता घिसिङ र विमला तामाङलाई जनही एक÷एक लाख रुपैयाँ सम्मान स्वरुप प्रदान गरिएहोको हो ।
गाउँपालिकामा बालबिवाह बढ्दै गएका बेला ‘बिहेवारी स्नातक तह पुरागरी’ भन्ने नारा अनुसार अविवाहीत छात्राहरुलाई उपहार स्वरुप जनही एक÷एक लाख रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले जानकारी दिनुभयो ।
स्नातक उतिर्ण गरेपछि मात्र बिवाह गर्ने छात्राहरुलाई पालिकाले एक/एक लाख रुपैयाँ उपहार दिने व्यवस्था गरेपछि सानै उमेरमा बिवाह गर्ने र विचैमा कक्षा छाड्ने छात्राहरुको संख्यामा कमी आउने अपेच्छा गरिएको पालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो ।
यस्तो कार्यक्रमले पालिका भित्रका प्रमाणपत्र तह अध्यन गर्दै गरेका छात्राहरुमा समेत हौसला बढ्ने र कम्तीमा स्नातक तहसम्मको अध्ययन पुरा नभएसम्म बिवाह नगर्न प्रोत्साहन हुने स्थानीय सम्भु कार्कीले बताउनुभयो । कार्यक्रमले समाजमा हुने बालबिवाह न्युनिकरणमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।
मरिण गाउँपालिका कार्यालयले मरिण क्षेत्रका किशोरीहरुलाई उच्च शिक्षा अध्यनमा प्रोत्साहन गर्न ल्याएको कार्यक्रम प्रति खुसी ब्यक्त गर्दै सम्मानित हुनुभएकी रजनी मैनालीले आफुहरुले सरकार गाउँमै भएको महसुर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका कार्यालयले साईकल वितरण तथा प्रोत्साहन रकम वितरण कार्यक्रम निरन्तरता दिदै किशोरीहरुको शैक्षिक प्रगतिमा अझ प्रभावकारी बनाउनु पर्छ ।” उहाँले यो वर्षमात्र हैन आउँदा वर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिनुभयो ।
प्रोत्साहन रकम पउनु भएकी मरिण गाउँपालिका ६ की विमला तामाङ स्नातक तह सम्मको पढाई मरिण बहुमुखी क्याम्पसमै गर्नुभएको हो । अहिले त्रिभुवन विश्वविद्यालयमा मास्टर डिग्रीको पढाई सुरु गर्नुभएकी तामाङले गाउँपालिकाले दिएको एक लाख रुपैयाँ रकम आफ्नो पढाइमै खर्च गर्ने बताउनुभयो । प्रोत्साहन रकम पाइने भएपछि गाउँपालिकाका किशोरीहरु तथा अभिभावकहरुमा कम्तीमा पनि स्नातक तह सम्म पढेर मात्रै विवाह गर्नु पर्छ भन्ने भावनाको विकास गराउने तामाङले बताउनुभयो ।
२०७९ साल स्नातक तहको पढाई पुरा गर्नुभएकी मरिण गाउँपालिका ७ की अविवाहित किशोरी सुकृता घिसिङले आर्थिक अभाव र विभिन्न कारणले बिचैमा पढाई छोडेर विवाह गर्ने किशोरीहरुलाई एक लाख रुपैयाँ लिनकै लागि भए पनि पढ्नु पर्छ भन्ने भावना बढ्ने बताउनु भयो ।
स्कुल उमेरमै बिवाह गर्ने तथा उच्च शिक्षा अध्यन नसकिकन विवाह गर्ने प्रचलन समेत अन्त्य हुँदै समाजमा बालविवाह रोकिनुमा साथै उमेर पुगेर गरेको विबाह समेत दिगो हुने गाउँपालिका कार्यालयले विश्वास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम दर्जिले बताउनुभयो ।