बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

इतिहास बन्दै सिन्धुलीमा ढिकी जाँतो

शनिवार , जेठ ६, २०८०

सिन्धुली – सिन्धुलीमा पछिल्लो समय ढिकि जाँतो लोप हुदै गएको छ । गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् । तराईबाट तयार गरिएका चामल, दाल, पीठोलगायत अन्न सहजै गाउँघरमा उपलब्ध हुन थालेपछि समेत ढिकी कुट्ने र जाँतो पिस्ने परम्परा लोप हुँदै गएको हो ।

बिहान सबेरै उठेर अथवा साँझ ढल्केपछि महिलाहरुको काम ढिकी र जाँतोमा धान कुट्ने, गहुँ फल्ने, गहुँ, कोदो, मकै, फापर र दाल पिस्ने हुन्थ्यो । गाउँमा सबैका घर ढिकी वा जाँतो हुन्थ्यो । भालेको डाकोसँगै उठेर कुटानी–पिसानी गर्नुपर्ने बाध्यता सबैलाई थियो । कुटानी–पिसानीका आधुनिक मिलहरुले आजभोलि सबैलाई सजिलो बनाएको यहाँका महिलाहरु बताउँछन् ।

“बिहान उज्यालो नहुँदै ढिकी, जाँतोको काम हुन्थ्यो, साँझको खाना खाएर पनि राति अबेरसम्म कुट्न, पिस्न पथ्र्यो”, सुनकोशी गाउँपालिका ५ की ७१ वर्षीय सान्ता थापाले भन्नुभयो, “हिजोआज बिजुलीबाट चल्ने मिल आएपछि सुविस्ता भएको छ ।”

“ढिकी जाँतोमा पिसेको खाना मीठो र पोषिलो हुन्थ्यो, बिजुलीमा पिसेको खाना नमीठो हुँदोरैछ”, उहाँले भन्नुभयो, “हामीले धेरै दुःख पाए पनि बिजुलीबाट चल्ने मिल आएपछि छोरीबुहारीले सुख पाएका छन् ।”

उहाँले कुटानी–पिसानीको काम गर्न नपर्दा खेतबारी, केटाकेटीलाई समयमा विद्यालय पठाउने र सरसफाइको काम गर्न सहज भएको बताउनुभयो । “ढिकी–जाँतो गर्ने काम मैले पनि बेहोर्नु प¥यो, टाढा पुगेर दुई–तीन घन्टा पालो पर्खेर पानी ल्याउनु पथ्र्यो, ढिकी–जाँतो गर्दा, पानी बोक्दामै दिन जान्थ्यो”, उहाँले भन्नुभयो “अहिले धेरै सहज भएको छ, हामी समयमा स्कुल जान नपाए पनि छोराछोरी समयमा स्कुल जान र पढ्न पाएका छन् ।”

तिनपाटन गाउँपालिका ११ की ६९ वर्षिय मिना कुमारी सुनूवारले कुटानी–पिसानीका आधुनिक उपकरणको प्रयोगले आफूहरुलाई समयको बचत गराएको बताउनुभयो । “बिहान घरको काम गरिन्छ, दिउँसोमा कार्यक्रम, उद्यमशील तालिममा सहभागी बन्ने समय मिल्छ”, उहाँले भन्नुभयो, “समय बचत भएकाले सिकेका सीपलाई बचत गरेर करेसाबारीमा तरकारी लगाउने, धागाबाट टोपी, स्वेटर, लेस, आउटर बुनेर थोरैधेरै आयआर्जन पनि गरेकी छु ।”

गाउँघरमा पेट्रोल, डिजेल र बिजुलीबाट चल्ने आधुनिक मिलमा कुटानी–पिसानी गरेबापत शुल्क र मानापाथी दिने परम्परा छ, कमलामाई नगरपालिका ४ का अप्सरा मगरले ढिकी, जाँतो, हातेमुसल, ओखल, बाँसबाट बनेका सुपो डालो लोप हुँदै गएकाले वडाले संरक्षणको अभियान थाल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिजो मानिसका अभावका सारथी, आज मासिन हुँदैन, गाउँमा त्यस्ता चीज हराउँदै गएकाले चिन्ता बढाएको छ । नयाँ पुस्तालाई देखाउन भए पनि लोपोन्मुख अवस्थामा रहेका ढिकी, जाँतो, कृषि औजार, वेशभूषा, परम्परा र संस्कार थोरैधेरै बजेट विनियोजन गरेर बचाउने योजना छ ।”

प्रतिक्रिया