सिन्धुली – पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधिले सवारी साधनको ब्यापक दुरुपयोग गर्ने गरेको पाइएको छ । दुई नगरपालिका सहित ९ स्थानीय तह रहेको सिन्धुलीका गाउँपालिका तथा नगरपालिकामा अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षहरुका लागी करोडौंको सवारी साधन खरिद गरिएको छ । ति सवारी साधनमा जनप्रतिनिधिका आफन्त र नातेदारहरुको रजाइँ चलिरहेको छ भने सवारी इन्धनमा ब्यापक खर्च गर्दै दुरुपयोग गरिएको छ ।
जिल्लाको गोलन्जोर गाउँपालिका उपाध्यक्षले सवारी साधनको दुरुपयोग गर्दै चालु आर्थिक वर्षमा मात्र १० लाख माथि खर्च गरेको सुचना सार्वजनिक भएको छ । गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले चालु आर्थिक वर्षमा १० लाख ४ हजार मुल्य बराबरको इन्धन खर्च गरेको गोलन्जोर गाउँपालिकाका वडा अध्यक्ष दौलत कार्कीले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ भने उक्त विषय सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० को बैशाख मसान्त सम्म गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुले सवारी इन्धनमा १७ लाख रकम खर्च गरेको र जसमध्ये गाउँपालिका अध्यक्षले ३ लाख ६० हजार, वडा अध्यक्षहरुले ३ लाख ३६ हजार र गाउँपालिका उपाध्यक्षले १० लाख ६० हजार रुपैयाँ बराबरको सवारी इन्धन खर्च गरेको वडा अध्यक्ष कार्कीले सार्वजनिक गर्नुभएको छ ।
गोलन्जोर गाउँपालिकाका जनप्रनिधिहरुले मात्र हैन जिल्लाका सवै स्थानीय तहका जनप्रनिधिहरुले सवारी साधन र इन्धनमा ब्यापक दुरुपयोग गर्ने गरेको नागरिक निगरानी सञ्जालका अध्यक्ष बेदराज दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “ स्थानीय तहका पदाधिकारीहरुले सरकारी सवारी साधनको ब्यापक दुरुपयोग गर्ने गरेका छन जस्का कारण राज्यको सम्पतिको ब्यापक दुरुपयोग मात्र भएको छैन लाखौं राज्यलाई नोक्सानी समेत भईरहेको छ । गाउँपालिकाका पदाधिकारीहरुले सवारी साधन तथा इन्धनमा मनोमानी गर्दै आईरहेका छन ।” सवारी साधन र इन्धनमा ब्यापक दुरुपयोग गर्नबाट रोक्न कानुन बनेको भएपनि प्रशासनिक प्रमुखको रुपमा रहेका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले नियन्त्रण गर्न नसकेको दाहालले बताउनुभयो ।
जनप्रतिनिधीहरुले कार्यालय समयमा सरकारी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्नु स्वाभाविकै भएपनि आफ्नो पार्टीको राजनैतिक कार्यक्रममा जाँदा तथा आफ्ना आफन्तसँग भेटघाट गर्दा समेत सरकारी सवारी साधनको प्रयोग गर्ने गर्ने गरेका छन ।
जनप्रतिनिधीहरुलाई सवारी साधनको सुविधाको बारेमा कानुनले निश्चित गरेको भएपनि त्यसको उलंघन गर्दै राजनैतिक बलमा प्रमुख प्रशासकीय अधिकृतलाई अटेर गर्दै सवारी साधन तथा इन्धनको दुरुपयोग गर्ने गरेको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सिन्धुली सौगातलाई बताउनुभयो । उहाँले भन्नुभयो, “अध्यक्ष तथा उपाध्यक्ष ज्यूलाई सवारी तथा इन्धनको सुविधाको बारेमा कानुनले निर्दिष्ट गरेको छ तर उहाँहरुले त्यसलाई कार्यान्वयन गर्नुभएको छैन ।” कानुन अनुसार कहि पनि जनप्रतिनिधीहरुले सवारी साधन प्रयोग नगर्ने गरेको उहाँको भनाई थियो ।
गाउँपालिका तथा नगरपालिका कार्यालयहरुले बिकास बजेटमा कटौती गर्दै सवारी साधन खरिद गरी सवारी साधनको दुरुपयोग गर्ने क्रम दोश्रो कार्यकाल सम्म आउँदा ब्यापक मात्रामा बढेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई चारपांग्रे सवारी साधन तथा वडा अध्यक्षहरुलाई दुईपांग्रे सवारी साधन सुविधा दिएको भएपनि उक्त सवारी साधनको ब्यापक मात्रामा दुरुपयोग हुने गरेको जनगुनासो बारम्बार आउने गरेको छ । सरकारी काम बाहेक व्यक्तिगत तथा परिवारीक कामका लागी समेत सवारी साधन प्रयोग गर्दा राज्यलाई दैनीक घाटा भईरहेको छ भने सवारी इन्धनको खपत समेत बढ्दै गईरहेको छ ।
सिन्धुलीका जनप्रतिनिधीहरुले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी ऐन–२०७५ ले उपलब्ध गराएको सवारी साधन सम्बन्धी सुविधा भन्दा बढी मात्रामा सवारीको दुरुपयोग र इन्धनको खपत गर्दै आईहरेका छन ।