दुधजन्य पदार्थ बिक्रीकोलागी सिन्धुलीमा पछिल्लो समय गाईभैंसी पाल्ने किसानहरुको संख्या बृद्धी भएको पाइएको छ । तर, गाईभैंसीमा लाग्ने विभिन्न प्रकारका रोगहरुले किसानहरुको मनोबल गिराउने गरेको छ । गाईभैंसीमा लाग्ने रोगहरु मध्ये लम्की स्किन गाईभैंसीको लागी घातक रोग हो । देशका विभिन्न जिल्लाहरुसँगै सिन्धुली जिल्लाका किसानहरु पनि पशुपालनमा सक्रिय हुँदै आएका छन् । आर्थिक अभावलाई परास्त गर्नको लागी तथा नेपालमै केही गर्ने सोचका साथ व्यवसायिक पशुपालनमा अग्रसरता देखिन थालेको छ । यति हुँदाहुँदै पनि विभिन्न रोगका कारण गाईभैंसी पालनबाट किसानले अपेक्षित लाभ लिन सकिरहेका छैनन् ।
पछिल्लो केहि महिनायता सिन्धुलीका अधिकांश स्थानिय तहमा लम्की स्किन संक्रमण भएपछि गाई, भैँसीको घाँटी र पुच्छरवरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खा आउने, देखिने, १ सय ५ डिग्रीभन्दा बढी ज्वरो आउने, कचेरा र सिंगान बग्ने, मुखबाट फिँज धेरै निकाल्ने जस्ता समस्या देखिएको छ । यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना, भुसुना लगायतको टोकाइबाट सर्ने गर्दछ । पछिल्लो समय नेपालमा लम्पी स्किन संक्रमण बढ्दै गएका कारण यसको संक्रमणबाट गाईवस्तलाई जोगाउन गोठको सरसफाईमा ध्यान दिनुपर्ने तथा चरनबाट पनि सर्ने भएकाले सजग हुनुपर्दछ । कृषकलाई सतर्कता अपनाउन र लम्की स्किनविरुद्धको खोप लगाउन सम्बन्धि निकायले व्यापक सचेतनामुलक कार्यक्रम संचालन गर्न जरुरी छ । त्यसैगरि, यो रोगको उपयुक्त औषधि नभए पनि खोप पहिचान भएकोहुँदा ठूला फार्म र गोठमा लम्की स्किन भित्रिन नदिन खोप लगाउन भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीले विशेष अग्रसरता देखाउन आवश्यक छ ।