सिन्धुली — फिक्कल गाउँपालिका वडा नं.–२ पोखरीमा बागमती प्रदेश सरकारको अनुदानमा सञ्चालित च्यूरीखानी/खान्टार/बरम्थुम्की/सुन्नाम लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र परेको छ ।
आर्थिक बर्ष २०७७÷०७८ मा सुरु भएको योजनाको निर्माण अवधि एक वर्षको मात्र रहेको र उक्त समयमा निर्माण सम्पनन् गर्न बजेट अभाब भएका कारण लिफ्ट खानेपानी योजना अलपत्र भएको फिक्कल गाउँपालिका २ का वडा अध्यक्ष संकर बहादुर भण्डारीले बताउनुभयो ।
प्रदेश सरकारले लिफ्ट खानेपानी योेजनाको लागी ५८ लाख रकम बिनियोजन गरेको थियो । उक्त खानेपानी योजनाको निर्माणको जिम्मा निर्माण कम्पनीलाई दिईएको थियो । निर्माण कम्पनीले सम्झौता अनुसार कार्य सम्पनन् गरेपनि बाँकी कार्य सम्पनन् गर्न बजेट अभाव तथा उक्त स्थानमा बिजुली नपुगेको कारण खानेपानी आयोजना अलपत्र परेको हो ।
योजना अलपत्र पर्दा च्यूरीखानी÷खान्टार÷बरम्थुम्की÷सुन्नामका झन्डै २ सय परिवार प्रभावित भएका छन । योजना अलपत्र परेपछि स्थानीय अहिले पुराना मुहानबाट पानी ल्याई खान बाध्य हुँदै आएका छन । खानेपानीका लागि उनीहरूले विभिन्न किसिमका समस्या भोग्नुपरेको छ । योजनाको काम गर्ने अवधि सकिएपछि ठेकेदारले ल्याएका सामग्री अहिले त्यत्तिकै थन्किएका छन ।
वाक्सुखोलाबाट लिफ्ट मार्फत बस्तीमा खानेपानी लैजाने योजनाको अहिलेसम्म कुलो निर्माण गरि ट्याङकीमा पानी समेत जम्मा गरिएको छैन । पाइप गाडेको स्थानमा पर्खाल मात्र लगाइएको र अन्य कुनै काम नभएको स्थानीय जय प्रसाद न्यौपानेले बताउनुभयो । समयमै योजना सम्पनन् नहुँदा घरकै धारामा शुद्ध पानी भर्न पाउने सपना अहिलेसम्म पूरा हुन नसकेको स्थानीय टिका रम्तेलले बताउनुभयो ।
वर्षातको समयमा र वैशाख, जेठमा पानीका लागि साह्रै गाह्रो हुने रम्तेलले जानकारी दिनुभयो । पुरानो योजनाको मर्मत नहुँदा नियमित धारामा पानी नआउने र छोटो समयमा लागि मात्र आउने गरेकाले एक दसक बढी समयदेखि स्थानीयहरुले खानेपानीका लागि सास्ती भोग्दै आएको रम्तेल बताउनुहुन्छ ।
योजना सम्पन्न गर्नका लागि माग राख्दै आए पनि राजनैतिक कारणले सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीय जय प्रसाद न्यौपानेले बताउनुहुन्छ । प्रदेशमा एमालेको सरकार हुँदा बजेट बिनियोजन भएको र उक्त योजना पुरा गर्न अन्य पार्टीका सांसद तथा सरकारले खासै चासो नदिएका कारण लिफ्ट खानेपानी योजना अलपत्र परेको न्योपानेले बताउनुभयो ।
गाउँपालिकाका कार्यालयले चालु आर्थिक बर्षमा आयोजनाको लागी ३ लाख बजेट बिनियोजन गरेको भएपनि उक्त रकमले विद्युत, कुलो तथा अन्य आवश्यक काम गर्न अपुग हुने र योजना सम्पनन् हुन नसक्ने अवस्था रहेको न्यौपानेले बताउनुभयो ।