बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा संरक्षण बिहिन प्राचिन सम्पदा

बुधवार , बैशाख २७, २०८०

सिन्धुली– हाम्रा गाउँ बस्तीमा रहेका प्राचीन सम्पदाहरू हाम्रा ईतिहास हुन । ती सम्पदाहरूको संरक्षण र बिकास गर्नु हामी सबैको दायीत्व हो । तर सिन्धुलीमा प्राचिन सम्पदाहरु संरक्षण केन्द्र प्रदेश तथा स्थानीय सरकार त्यसको संरक्षणमा खासै चासो देखाउन सकेको छैन ।

सुनकोशी गाउँपालिका–१ नेपालथोक स्थित बिपि राजमार्गको छेउमै रहेको प्राचीन धर्मशाला संरक्षण विहिन अवस्थामा रहेको छ भने सुनकोशी गाउँपालिका वडा नं.–३ मा रहेको प्राचिन रातमाटा बजार, गुठबजारमा लगायतका प्राचिन बजारहरु संरक्षण विहिन अवस्थामा रहेका छन ।

सुनकोशी गाउँपालिका मात्र हैन जिल्ला भरि रहेका प्राचिन सभ्यता र सस्कृतिहरु संरक्षण विहिन अवस्थामा रहेका छन । त्यसको संरक्षण राज्यको ध्यान पुग्न नसकेको स्थानीयहरु बताउछन ।

परापुर्वकालमा निर्मित उक्त धर्मशाला भग्नावशेष अवस्थामा रहेपनि पुननिर्माणमा कसैले चासो नदेखाएको स्थानीयहरूको गुनासो छ । प्राचीन शैलीमा निर्माण गरिएको उक्त धर्मशालामा विपि राजमार्ग नहुँदा पुर्वबाट काठमाण्डौ आवतजावत गर्ने बटुवाहरूले आराम तथा बास बस्ने स्थलको रूपमा प्रयोग गर्ने गरेको ईतिहास रहेको भएपनि ऐतिहासीक प्राचिन सम्पदाको संरक्षण हुन सकेको छैन ।

नेपालको प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षण एवं व्यवस्थाप गर्ने निती भएपनि स्थानीय स्तरमा रहेका प्राकृतिक सम्पदाहरुको खोज तथा अनुसन्धान र सम्पदाहरुको संरक्षणमा सरकारले खासै ध्यान नदिईएको सुनकोशी गाउँपालिका–३ का पुण्डरी आचार्य बताउनुहुन्छ ।

उहाँ भन्नु हुन्छ, “ प्राचिन सभ्यता, संस्कृति, सम्पदा आफ्नै विशेषता छन, तिनीहरुलाई संरक्षण गर्नु राज्यको दायीत्व हो, तर सम्पदाहरु विस्तारै भग्नावशेष बन्दै गईरहेका छन ।” पुराना पार्टी, पौवा, धर्मशाला, मठमन्दिर, प्राचिन कालमा नामाकरण गरिएका स्थानहरुको संरक्षणमा विशेष महत्व दिनुपर्ने उहाँले बताउनुभयो ।

नेपालको भौगोलिक वनावट, धर्म, संस्कृति, परम्परा, इतिहास र पौराणिक कालसम्म जोडिएको चर्चा र परिचयले हाम्रो सभ्यता स्रोतको गहिराइ अनुमान गर्न सकिन्छ ।

यहाँका हरेक ढुङ्गामा देवताको बास छ, प्रत्येक नदीमा धर्मको सुगन्ध छ । यहाँका प्रत्येक डाँडा थुम्कामा आस्थाको प्रतीक छ । नेपालको सभ्यता यिनै नदी, पहाड र थुम्काबाट जोडिएर आधुनिक कालसम्म आइपुगेको छ । हाम्रो सभ्यतालाई चुनौती दिनसक्ने हैसियत कसैमा छैन तर हामीले हाम्रो सभ्यताको धरोहर सम्पदा संरक्षणमा पटक्कै चासो नदिइएको आचार्यले बताउनुभयो ।

नेपाल सम्पदा, सभ्यता र संस्कृतिले भरिएको मुलुक हो तर हामीले हाम्रो सम्पदा, सभ्यता र संस्कृतिको संरक्षण गर्न सकिरहेका छैनौ । यसलाई मुलुकको समृद्धिसँग जोड्न पनि सकेका छैनौँ । समयमै प्राचिन सम्पदाको संरक्षणमा स्थानीय सरकारले ध्यान पु¥याउन सकेमा आर्थिक आम्दानीको श्रोत समेत हुन सक्ने फिक्कल गाउँपालिका–३ का बिष्णु प्रसाद पहाडी बताउनु हुन्छ । हजारौँ वर्ष पुराना संरचना खण्डहर र कुरुप बनाउँदै बङ्गला बनाएर त्यसलाई ओझेलमा पार्न थालिएको पहाडीले बताउनुभयो । प्राचिन सम्पदाको संरक्षणमा नागरिकहरु नै जागरुक हुनुपर्ने उहाँले बताउनुभयो ।

विद्यालय तहदेखि नै सम्पदाको संरक्षणका विषयमा अनिवार्य रूपमा पाठ्यक्रम तयार गरेर पठनपाठन गर्नु आवश्यक रहेको सुनकोशी गाउँपालिका–३ को प्रगतिशिल उमाविका प्रधानाध्यापक चक्र बहादुर श्रेष्ठले बताउनुभयो । बालबालिकालाई इतिहास, सम्पदा र यसको महत्व दर्शाउन सके भविष्यका लागि देशको आर्थिक विकासको एउटा दह्रो आधार बन्न सक्ने श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सभ्यता, संस्कृति र सम्पदा संरक्षणमा अब युवा विद्यार्थीलाई योजनाबद्ध रूपमा अघि सार्नुपर्छ, यसका लागि विद्यालयले चासो दिनुपर्छ र सरकारले सोहीअनुसारको पाठ्यक्रम पनि बनाउनुपर्छ ।”

नदी, मन्दिरल गायत सम्पदाको सफाइ, संरक्षण गर्नु भनेको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यावरणीय रूपमा मजबुत हुनु हो । यसको दीर्घकालीन गुरुयोजना बनाउन ढिला भइसकेको छ । सम्पदासँग नागरिकलाई जोड्दै महत्व बुझाउँदै प्राचिन सम्पदाको संरक्षण सबै तहका सरकारहरु लाग्न जरुरी रहेको छ ।

प्रतिक्रिया