बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

चियाबारीका अग्निपिडितलाई राहत जुट्दै

शनिवार , बैशाख २३, २०८०

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका २ स्थित चियाबारीका अग्निपिडित परिवारलाई राहत जुट्ने क्रम जारी छ । अग्निपिडितलाई राहत जुटाउन जिल्लाका युवाहरु अग्रपंक्तिमा देखिएका छन् ।

गत बिहिबार र्यापर प्रिन्स राजको टोलीले ‘चियाबारी राहत कोष’ मा हालसम्मकै धेरै रकम सहयोग गरेको छ । प्रिन्सको समूहले अग्निपिडित परिवारलाई ७० हजार रुपैँया सहयोग गरेको हो । सहयोग रकम हस्तान्तरण गर्दै र्यापर प्रिन्सले युवा व्यवसायी मनोज थापा, बिकि शाह, अदनान शाह, रोशन कार्की, गायक सपन श्रेष्ठ र राष्ट्रिय युवा संघका उपाध्यक्ष पुष्प श्रेष्ठलाई रकम जुटाउन सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ ।

गायन क्षेत्रमा सक्रिय प्रिन्सले आफ्नो कर्मथलो जहाँ भएपनि जन्मथलो सिन्धुलीनै भएकाले जिल्लामा पिडा पर्दा आफूलाई दुख्ने गरेको बताउनुभयो । ‘आगलागीको घट्नाले स्तब्ध बनायो । तत्कालै एउटा समूह बनाएर राहत संकलनमा जुट्यौँ । राहत लिएर सिन्धुली आएको छौँ ।’ उहाँले भन्नुभयो, ‘तन जहाँ भएपनि मन भने सधैँ सिन्धुलीमा रहने छ । राहत जुटाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।’

त्यस्तै, शनिबार लायन्स क्लब अफ धरान पञ्चकन्यामार्फत श्री सञ्जय साई सेवा नेपालले छ थान ब्ल्यांकेट सहयोग गरेको छ । गायक सपन श्रेष्ठ, अन्जना श्रेष्ठ र एकता श्रेष्ठले अग्निपिडितलाई राहत जुटाउन पहल गरेका थिए ।

कमलामाई नगरपालिका २ चियाबारिका युवा व्यवसायी दिपेनराज जर्काले ६० हजार एक सय ५० रुपैँया सहयोग गर्नुभएको छ । उहाँले देश, विदेशमा रहेका साथीभाईसँग मिलेर राहत जुटाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो विपत्ति जोकोहिलाई आईलाग्न सक्छ । जति सकिन्छ सहयोग गर्न जुटौँ । एउटाको पिडामा अर्कोले मलम लगाउन सक्नुनै मानवता हो ।

त्यसैगरि, जिल्लाको कमलामाई नगरपालिका ६ मा रहेको सिद्धस्थली अंग्रेजि आवासिय उच्च माध्यमिक विद्यालयले बिहिबार अग्निपिडित परिवारलाई ४७ हजार छ सय ४५ रुपैँया सहयोेग गरेको छ । विद्यालयका प्रधानाध्यापक ओम प्रधानले विद्यालयका कर्मचारीबाट संकलित ४३ हजार रुपैँया र सोही विद्यालयको बाल क्लबमा आवद्ध रहेका विद्यार्थीबाट संकलन भएको चार हजार छ सय ४५ रुपैँया अग्निपिडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ । विद्यालयले यसअघि पनि जिल्लाको सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

गत वैशाख ११ गते चियाबारीमा भएको आगलागीबाट चार घरपरिवारका पाँच घर जलेर नष्ट हुनुका साथै करोडौँको धनमाल डढेको थियो । आगलागीबाट राजकुमार श्रेष्ठ, योगबहादुर थापा, कौशल थापा र गंगाबहादुर थापाको घर जलेको छ । आगलागीबाट एक करोड १६ भन्दा बढी धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया