सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिकाले दुईजना किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । गाउँपलिकाको कार्यालयमा राखिएको गुनासो दर्ता किताबमा बाँदरले बालीनाली नष्ट गरि आतंक मच्चाएको गुनासो आएपछि बारुदसहितको यन्त्र वितरण गरिएको सुनकोशी गाउँपालिकाको अध्यक्ष दिपा बोहोराले बताउनुभयो । बादर आतंक नियन्त्रण गर्न आविस्कार केन्द्रबाट तीन थान बाँदर भगाउने यन्त्र ल्याइएको अध्यक्ष बोहोराले जानकारी दिनुभयो । सुनकोशी गाउँपालिका ५ रामटार र परेवा डाँडाका दुईजना किसानलाई यन्त्र हस्तान्तरण गरिएको छ ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोइरालाले बाँदर धपाउने तीनवटा यन्त्र परिक्षणकालागि वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिको प्रभावकारी हुन्छ हेरेर आगामी आ.व. २०८०/०८१ म बजेटनै छुट्याएर थप यन्त्र ल्याउने योजनामा छौँ ।”
महावीर पुनले आविष्कार गरेको बाँदर भगाउने यन्त्र प्लाष्टिक पाइपबाट बनेको छ । यसमा पड्काउने ढुंगा पानीमा घोल्नु पर्ने र ग्याँस जलाउने लाइटरले बालेपछि ठूलो आवाज आउने र बादर तर्सेर भाग्ने गाउँपालिकाको प्रशासकिय अधिकृत अर्जुन दर्जीको भनाइ छ । गाउँपालिकाले एउटा यन्त्रकालागि तीन हजार एक सय रुपैँया र तीन सय रुपैँया हारहारीमा बारुद खरिद गरेको दर्जीले बताउनुभयो ।

जिल्लाको सुनकोशी, गोलन्जोर र अधिकांश गाउँपालिका माहाभारत तथा चुरे क्षेत्रका मानव बस्तीमा बाँदरहरूले आतंक मच्चाएका छन् । जंगलमा रहेका बाँदरहरुले खान नपाउदा स्थानीय वासीन्दाहरुको घरमा पसेर अन्न खाने र लैजान थालेपछि स्थानीय त्रसित बनेका हुन् । रामेछाप जिल्लाबाट सुनकोशी नदी तरेर सिन्धुलीमा आएका बाँदरको हुल झुण्डले सुनकोशी र गोलन्जोरका केही स्थानीय वासीन्दाहरुलाई आक्रमण समेत गरेको स्थानियले बताएका छन् ।
दिउँसोको समयमा आउने बाँदरहरुको हुलले स्थानीय किसानहरुको घरबाट मकैको झुत्ता झिकेर खाने र लैजाने गरेको सिन्धुलीका चुरे भावर क्षेत्रका स्थानीयले बताएका छन् । तराईको महोत्तरीको खयरमारा र सर्लाहीको सागरनाथ वन क्षेत्रबाट समेत हुल बाँधेर चुरे पहाड पार गरी बाँदरहरु सिन्धुलीमा पसेको वन कर्मचारीले बताएका छन् ।
खान नपाएर भोकाएका बाँदरहरुले घर र घरमा पसेर बाल बालिका तथा बृद्व–बृद्वाहरुलाई पिट्ने चिथोर्ने गरेका छन् । हुल बाँधेर आएका बाँदरहरुका कारण घर–घरमा पालिएका कुकुरहरु समेत डराउने गरेका छन् । जंगलमा बस्ने बाँदरहरुलाई खाने कुरा समेत नभएका कारण बाँदरहरु गाउँघरमा पसेर आतंक मच्चाएको अनुमान डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ ।