स्थानीय तहलाई संविधान र स्थानीय सरकार सञ्चालन ऐनले एकीकृत सम्पत्ति कर, व्यवसाय कर, घरजग्गा कर, सेवा शुल्क दस्तुर, अन्य स्थानीय कर र राजस्व बाँडफाँटलाई कर संकलनको दायरा तोकिदिएको छ । तर, सिन्धुलीका स्थानीय तह आन्तरिक आय संकलनमा कमजोर देखिएको छ । जिल्लाका नौँवटै स्थानीय तहका जनप्रतिनिधिले राजस्व संकलनमा ध्यान दिन नसक्दा स्थानीय तहले अपेक्षाकृत रूपमा राजस्व संकलन गर्न नसकेको हो ।
स्थानीय तहलाई आर्थिक रूपमा सक्षम बनाउन जनप्रतिनिधि अध्ययनशिल हुनैपर्छ । जनप्रतिनिधि अध्यनशिल नहुँदा प्रमुख प्रशासकिय अधिकृतले नै सिन्धुलीका स्थानीय तह हाँकिरहेका छन् । जसो जसो बाहुन बाजे, उसो उसो स्वाहा भनेझैँ सरकारको प्रतिनिधिसँग जनताका प्रतिनिधि पुर्ण रुपमा निर्भर भएका छन् जसले गर्दा जनप्रतिनिधि आफ्नै अधिकारको बारेमा अनविज्ञ छन् । तसर्थ, स्थानीय तहका जनप्रतिनिधिले आफ्नो काम, कर्तव्य र अधिकारका बारेमा जानकार हुन आवश्यक छ ।
स्थानीय तहलाई आर्थिक रुपमा बलियो बनाउन जनप्रतिनिधि स्वयं सचेत हुन जरुरी छ । प्रदेश र संघको मात्र भरपर्दा स्थानीय तहले आफूले इच्छाएको कार्यक्रमहरु संचालन गर्न सकेको छैन । परनिर्भरता बढ्दा स्थानिय तह सिर्फ संघ र प्रदेशको बजेटको कार्यान्वयन गर्ने निकायमात्र भएको छ । स्थानीय तहले राजस्व संकलनमा सुधार ल्याउनकालागि जनप्रतिनिधि र सरकारी प्रतिनिधिबिच समन्वय हुन जरुरी छ । अतः स्थानीय तहको राजस्व मूल्यांकन कमजोर देखिएकाले आन्तरिक राजश्व संकलनमा स्थानीय सरकार गम्भिर हुनुपर्दछ ।