सिन्धुली — जिल्लामा जंगली हात्तीको त्रास बढेको छ । रातको समयमा गाउँ पसेर आतंक मच्चाउन थालेपछि त्रास बढेको हो । हात्तीले दुधौली नगरपालिकामा मात्रै वर्षको चार पटकसम्म दुःख दिने गरेको स्थानीयवासी बताउँछन् ।
चार पाँच वर्षअघिसम्म वर्षको दुई तीनपटक मात्र निस्कने जंगली हात्ती त्यसपछिका वर्षमा चुरे जंगलमै अड्डा जमाएर बसेका छन । “हात्तीले कहिले ? कुन ठाउँमा पुगेर आतंक मच्चाउँछन् भन्ने कसैलाई थाहा हुँदैन, जहिल्यै त्रासमा बस्नु परेको छ”, दुधौली नगरपालिका–३ खुट्टेपानीकी आइतीमाया सार्कीले बताउनुु भयो ।
गत फागुन १३ मा कमलामाई नगरपालिका–१३ रानीवासका दण्डपाणि न्यौपानेको घरमै सुतेको अवस्थामा जंगली हात्तीको आक्रमणबाट मृत्यु भयो । बिहान झिसमिसेमा हात्तीले घर भत्काएर भित्र राखेको अन्न तान्न थालेपछि धपाउन खोज्दा उहाँलाई हात्तीले कुल्चिएर मारेको थियो ।
उक्त घटनापछि हात्तीलाई स्थानान्तरण गर्न दबाब दिने उद्देश्यले स्थानीयले दुईदिन मदन भण्डारी राजमार्गसमेत अवरुद्ध पारेका थिए । निकुञ्जको टोली ल्याएर हात्तीलाई बेहोस बनाएर लैजाने सहमति त भयो तर कार्यान्वयन नहुँदै त्यसयता दुई दर्जन घर भत्काउनुको साथै अन्नबालीसमेत जंगली हात्तीले नष्ट गरेको छ । सहमतिअनुसार निकुञ्जको टोली पनि आइपुगे पनि नियन्त्रण गर्न नसकेको स्थानीय धनीराम कुमरले बताउनु भयो ।
रानीवासका स्थानीय पुजन बख्रेलका अनुसार जंगली हात्ती चुरे जंगलमै अड्डा जमाएर बसेका छन । “पहिला त बाटो मात्र प्रयोग हुँदा त्यति धेरै क्षति हुँदैनथ्यो,” उहाँले भन्नुभयो, “केही घर भत्काउनुका साथै अलिअलि अन्नबाली नष्ट हुन्थ्यो । अहिले हात्तीको वासस्थान नै रानीवासमा रहेको चुरेको सुनखानी जंगल भएको छ । दुई तीन वटाको संख्यामा बा¥है महिना हात्ती यतै हुन्छन ।”
दिउँसो आराम गर्ने र रातको समयमा जंगली हात्ती वस्ती छिर्ने गरेका छन । दुधौली नगरपालिका–३ तल्लो खुट्टेपानीमा जंगली हात्तीले रामपरीदेवी सोनारको दुइ साता अघि पसल र घर भत्कायो । सुतिरहेका सोनार दम्पती भाग्न सफल भए पनि घरमा राखिएका फ्रिज, टीभी र अन्य पसलका सामान भने बचाउन सकेनन । यतिबेला हात्ती पीडित दम्पती लखिया सोनार र रामपरीदेवी त्रिपालको सहारामा दिन गुजारिरहेका छन ।
“भररातजाग्राम बस्ने गरेका छौं, पहिला घर हुँदा त भत्कायो, अहिले यो त्रिपालले के थेग्ला र” रामपरीले आफ्नो व्यथा सुनाउँदै भन्नुभयो, “हात्ती यताबाट आउँछ कि उताबाट आउँछ भन्ने त्रासले बुढाबुढी पालो गरेर सुत्छौं । ज्यान रहेन हरिया बुटा देख्ने हो ।” जंगली हात्तीले निपानेको जंगल नछाडेपछि स्थानीय जाग्राम बस्न बाध्य भएका छन । रामपरिको मात्र हैन् हात्तीले दैनिकजसो घर भत्काउने अन्नपात नष्ट गर्ने, बालीमा क्षति पु¥याउने गर्दै आएको दुधौली नगरपालिका ३ की अध्यक्ष भद्राकुमारी माझीले बताउनु भयो ।
हालसालै १५ वटा घर भत्काएको वडामा रेकर्ड छ । हात्ती धपाउन स्थानीयले हरसम्भव प्रयास गर्छन । तर उपाय चल्दैन । “हात्तीगाउँ पसेको थाहा पाउन साथ आगोको धुनी बालेर होहल्ला गर्छौं,” स्थानीय कुन्ता थापाले भन्नुभयो, “रातभर बिजुलीबत्ती बालिरहन्छौ, भाँडाकुँडा ठटाउछौं, तैपनि हात्ती पसेर क्षति गर्न छोड्दैन ।”
जंगली हात्तीले विशेषगरी कमलाखोंच क्षेत्रमा बर्सेनि धनजनको क्षति गर्दै आएको छ । दुधौली र कमलामाई नगरपालिकाका सात वटा वडाका जंगल छेउमा रहेका स्थानीयलाई हात्तीले आतंकित बनाएको छ । हात्ती हिँड्ने बाटो मानव अतिक्रमणमा परी बस्ती बन्दा क्षति हुने गरेको डिभिजन वन कार्यालयको ठहर छ ।
हात्तीले पुस्तौंदेखि हिँड्न प्रयोग गर्दै आएको आफ्नो बाटोमा (रुट) यतिखेर मानिसको घर निर्माण र खेतीयोग्य जमिनको प्रयोग हुँदा मानवीय क्षतिदेखि भौतिक संरचना र अन्नबालीको नोक्सानसमेत हुने गरेको डिभिजन वन प्रमुख कृष्णराज न्यौपानेले बताउँनु भयो । कार्यालयका अनुसार दुधौली नगरपालिकाका १४ वडामध्ये वडा १, २, ३, ४, ५, ६, ८, ९ ,१०, ११ र कमलामाई नगरपालिकाका ८, ९, १३ र १४ का बासिन्दा बर्सेनि हात्तीको त्रासमा हुन्छन ।