सिन्धुली – माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा कमलामाई नगरपालिका ५ का सरोज फुयाँल र राजेश फुयाँलले वाटर डिस्पेन्जर सहयोग गर्नुभएको छ । बिहिबार स्वर्गिय आमा बिन्दा फुँयालको स्मृतिमा फुँयाल दाजुभाईले नवज्योति बहिरा माध्यमिक विद्यालयलाई तातो चिसो पानीकालागि एक थान वाटर डिस्पेन्सर सहयोग गर्नुभएको हो ।
नेपाल निजामती कर्मचारी संगठनको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित शुभाकामना आदानप्रदान तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा उक्त संगठनको सिन्धुलीका सहसचिव सरोज फुँयाल र राजेश फुँयालले डिस्पेन्सर विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
त्यसैगरि, संगठनको स्थापना दिवसको अवसरमा नवज्योति विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको संगठनकोे केन्द्रीय सचिवालय सदस्य एवम् सिन्धुलीका ईन्चार्ज पुरुषोत्तम दाहालले बताउनुभयो । दाहालको प्रमुख आतिथ्यता, केन्द्रीय पार्षद हेम थापा, एमाले सिन्धुलीका सचिव तथा नवज्योति विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण बराल, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन सिबिए सिन्धुलीका अध्यक्ष तीलक कार्की, पेशागत महासंघ नेपाल सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझी ,स्थानीय तह कर्मचारी संघका अध्यक्ष मुकेश तामाङ, राष्ट्रसेवक साकोसका अध्यक्ष बद्रीनारायण श्रेष्ठ , सेवानिवृत कर्मचारी संघका गणेश श्रेष्ठ, शिक्षा विकास तथा समन्वय ईकाईका शाखा अधिकृत दुर्गा भूजेल, शिद्वेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष घनश्याम देवकोटा, विद्यालयका प्रधानाध्यापक बिजय तामाङ लगायतको आतिथ्यता एवम् विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागितामा डिस्पेन्सर र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।
संगठनका अध्यक्ष पदम मगरको अध्यक्षतामा मनाईएको स्थापना दीवसमा उपाध्यक्ष प्रभुनाथ प्याकुरेलले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव डिल्ली सौगात घिमिरेले गर्नुभएको थियो ।