सिन्धुली — सुनकोशी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने काम पहिरो खसेपछि रोकिएको छ । दुई सय घन मिटर माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचेपछि तीन साता अघिबाट काम रोकिएको हो ।
दायाँबायाँ र माथिबाट पाउडर जस्तो माटो झरेपछि मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाले जनाएको छ । यो पाउडर जस्तो धुलोलाई ‘फिलाइट’ भनिन्छ । सुरुङ खन्ने काम असोज २८ गतेबाट सुरु भएको थियो । हालसम्म गत चैत १७ गते सम्ममा ४ हजार ६६९ मिटर सुरुङ खनिएको छ । चुरे रेन्ज कटेर महाभारत क्षेत्रमा प्रवेश गर्न ३ सय मिटर बाँकी हुँदा काम रोकिएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिनु भयो ।
यसअघि २ किलोमिटर सुरुङ खन्दा पनि पुस महिनामा ९ दिन काम रोकिएको थियो । धुलोलाई केमिकल प्रयोग गरेर रोक्न खोज्दा समेत नभएपछि अब बाइपासको विकल्प नरहेको आयोजना प्रमुख बरालको भनाइ छ । “पहिला हिलो, लेदो माटो र पानी आएर अवरोध गरेपछि त्यसलाई केमिकल प्रयोग गरेर कडा बनाइ निकास खोजेका थियौं,” उहाँले भन्नुभयो, “अहिले पूरै पाउडर जस्तो माटो खन्दै नखनेको क्षेत्रबाट आएपछि टनेल बोरिङ मेसिन(टीबीएम) अगाडि बढ्न सकेन ।” अब बाइपासको लागि कन्सल्ट्यान्ट, भूगर्भविद, निर्माण व्यवसायीका प्राविधिक र आयोजनाका प्राविधिक सबै लागि परेर बाइपासको तयार गरी काम भइरहेको उहाँले जानकारी दिाु भयो ।
सुरुङको काम सबैभन्दा बढी अप्ठेरो रहेको क्षेत्र पार गर्न ३ सय मिटर मात्र बाँकी रहँदा समस्या आएको र अब साता दिनभित्र पुनः खन्न सुरु गर्ने गरी काम भइरहेको आयोजना प्रमुख बरालले जानकारी दिनु भयो । मेसिनको अगाडि पुरिएको भागलाई काटेर पुनः कटर जडान गरी बाइपासबाट सुरुङ खन्ने काम गर्ने योजनामा आयोजना लागेको छ । ४ हजार ९ सय मिटर सुरुङ खनेपछि महाभारत रेन्ज भेटिने र थप समस्या नआउने आयोजना प्रमुख बरालको आंकलन छ । बाइपास भएर सुरुङ लैजाने कामको लागि अन्तर्राष्ट्रिय विज्ञ समेत झिकाइएको छ ।
१३ दशमलव ३ किलोमिटर लामो सुरुङ कमलामाई नगरपालिका–२ कुसुमटारबाट खन्न सुरु गरिएको हो । महाभारत क्षेत्रमा कटा चट्टान हुने भएकाले समस्या नआउने आयोजनाले जनाएको छ । “जमिनमुनिको सबै यसै भन्न त सकिँदैन, तर हामीले महाभारत क्षेत्र प्रवेश भएपछि ठूलो समस्या नआउने आंकलन गरेका छौं,” आयोजनाकै सिनियर डिभिजनल इन्जिनियर अशोक गौतमले बताउनु भयो । अहिलेका