सिन्धुलीमा सार्वजनिक सेवाकालागि सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको गुनासो बढ्दो छ । जिल्ला प्रशासन कार्यालयमा पनि नागरिकले सिफारिस पत्र प्राप्तिकालागि पापड बेल्नुपरेको दुखेसो छ । सरकारी कार्यालयमा वडापत्रको व्यवस्था अनिवार्य भएपनि नागरिक सार्वजनिक सेवा लिन अलमलमा पर्ने गरेका छन् । स्थानिय तहदेखि सरकारी कार्यालयमा सेवाग्राही सन्तुष्ट हुन सकेका छैनन् ।
सेवाग्राहीले सेवा लिने प्रक्रिया नबुझ्दा दोधारमा पर्ने गरेको गुनासो व्यापक छ । सार्वजनिक सेवाका प्राप्तिकालागि नागरिकले विचौलयाकै मुख ताक्नु पर्ने बाध्यता छ । सरकारी कार्यालय बाहिर रहेका सहजकर्ताले महंगो शुल्क लिने गरेको सेवाग्राहीले बताउने गरेका छन् । राष्ट्रिय परिचयपत्रकालागि जिल्ला प्रशासनमै कागजात भर्ने व्यवस्था छ । ढिलासुस्ती र लाईनमा बस्नुपर्ने बाध्यताले गर्दा सेवाग्राहीले महंगो शुल्क तिरेर कागजात भर्नु परिरहेको छ ।
टोकन सेवा नहुँदा जिल्ला प्रशासनमा सेवाग्राहीहरु लाईनमै बस्न बाध्य छन् । विद्युत कटौतिको समस्याले पनि सेवाग्राही झनै मारमा पर्ने गरेका छन् । जेनेरेटर प्रयोगविहिन हुँदा सेवाग्राहीले सास्ती व्यहोर्नुपरिरहेको छ । त्यसैगरि, विश्रामकालागि पनि पर्याप्त ठाउँ नहुँदा सेवाग्राही असिनपसिन हुने गरेका छन् । तसर्थ, सेवाग्राहीलाई सहज तरिकाले सेवा दिनकालागि जिल्लामा रहेका सार्वजनिक संस्थाले विशेष ध्यान दिन आवश्यक छ । अतः राज्यले दिने सेवासुविधालाई सहज बनाउन जिम्मेवार पक्षले गम्भिर समिक्षा गर्न जरुरी छ ।