सिन्धुली – सिन्धुलीमा दैनिक ४ भन्दा बढी ठाउँमा डढेलो लाग्ने गरेको छ । डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णप्रसाद न्यौपानेका अनुसार दैनिक ४ ठाउँ भन्दा बढीमा डढेलो लागेको खबर आउने गरेको छ । “डढेलो नियन्त्रणका लागि दैनिक ४/५ ठाउँबाट फोन आउँछ । हामीले १ देखि २ ठाउँमा पुगेर डढेलो पुर्णरुपमा निभाएका छौँ ,” उहाँले भन्नुभयो । हाल सम्म ६१ भन्दा बढी स्थानमा डढेलो लागेको डिभिजन वन कार्यालय सिन्धुलीले तथ्यांकले देखाएको छ ।
केहि दिन अगाडि सुनकोशी गाउँपालिका –२ अँधेरी पाखामा लागेको डढेलो बस्तीमा सल्किदा स्थानीय जुल्फे सार्कीको घरगोठ जलेर नष्ट भएको छ । उहाँको श्रीमती सिता विसंखे घाइते हुनुभएको छ ।
जंगलमा लागेको आगो सार्कीको घरमा सल्किदा निभाउने क्रममा विसंखे जलेर घाइते हुनुभएको हो । उहाँलाई उपाचारका लागि धुलीखेल अस्पताल पठाइएको छ । आगलागीबाट सार्कीको अन्नपात,लत्ताकपडा,भाँडाकुँडा नष्ट हुनुका साथै तीनवटा भैंसी,एउटा बाख्रा जलेर मरेका छन् ।
अँधेरी पाखाको डढेलो नियन्त्रण बाहिर गएको छ । यस्तै सुनकोशी गाउँपालिकामा सातादेखि सल्केको डढेलो नियन्त्रण बाहिर जाँदा स्थानीय त्रसित बनेका छन् । सुनकोशी गाउँपालिका २ को अँधेरी, साँधिखोला, वडा नम्बर ४ को लक्ष्मी डाँडा जंगलमा आगलागी भइरहेको छ ।
केहि दिन अगाडि कमलामाई नगरपालिका ६ पानिट्यांकी नजिकै डढेलो लागेको थियो । बनमा लागेको डढेलोले खानेपानीको पाइप नै क्षेती हुने देखीएपछि कमलामाई नगरपालिकाको दमकलले डढेलो निभाउन सफल भएको थियो ।
फागुनमाखासै डढेलोका घटना नभएपनि चैत लागेसँगै यहाँ रहेका सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रणमा आए पनि अहिले थप केही क्षेत्रमा नयाँ डढेलो लागेको प्रमुख न्यौपानेको भनाइ थियो ।
डढेलो नियन्त्रणका लागि चैतको पहिलो सप्ताहव्यापी कार्यक्रम गरिएको थियो । मानवीय कारणले नै डढेलो लाग्ने भएकाले वनकार्यालयले साप्ताहव्यापी सचेतना कार्यक्रम सञ्चालन गरेको हो । वनमा आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रने भन्ने धारणाले आगलागीका घटना हुने गरेका छन् । कहिले काँही सिकारीले वन्यजन्तुको सिकार गर्न पनि डढेलो लगाउने गरेका छन् । पहिले पहिले खोरिया फाँड्न वनमा आगो लगाउने चलन भएपनि सिन्धुलीमा भने हाल यस्तो घटना भएको पाइएको छैन ।