स्थानिय तहको मातहतमा रहेको अनुगमनको अधिकार प्रयोगविहिन भएको छ । सिन्धुलीमा बजार अनुगमन नभएको धेरै समय बितिसकेको छ । जिल्लाको नौँवटै स्थानिय तहका केहि थोक विक्रेताले मनलाग्दी मूल्य राखेर उपभोक्तालाई मर्कामा पारिरहेका छन् । उपभोक्ताहरुले बारम्बार कालोबजारीका बारेमा आवाज उठाउदा पनि जिम्मेवार निकाय पन्छिएको अवस्था छ ।
अनुगमनमा देखिएको कञ्जुस्याँईका कारण कालोबजारी नियन्त्रणकालागि सरकारको कदम पर्याप्त नभएको उपभोक्ताहरुले गुनासो गरिरहेका छन् । पछिल्लो समय कालोबजारी फस्टाइरहेको छ । उपभोक्ताहरुसँग चर्को मूल्य लिएर सामान विक्रि गर्ने क्रम बढिरहेको छ । बजार अनुगमनकालागि स्थानिय तह देखि केन्द्र सम्म सरकारले विभिन्न संयन्त्रलाई अधिकार दिएको छ । तसर्थ, प्रभावकारी ढंगबाट बजार अनुगमन हुन आवश्यक छ । त्यसैगरि, कालोबजारीमा संलग्न रहेका जोकोहिलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्न सम्बन्धित निकायले ढिलो गर्नुहुदैन ।
उपभोक्ताहरु बजार मूल्य भन्दा चर्को मूल्य तिरेर सामान खरिद गर्नुपरिरहेको गुनासो गरिरहेका छन् । खाद्यदेखि तरकारीसम्म, सुनदेखि नुनसम्म र हरेक सामाग्रीमा उपभोक्ताहरु ठगिनु परिरहेको हुँदा जिल्लाका नौँवटै स्थानिय तह लगायत जिम्मेवार राज्य संयन्त्रले प्रभावकारी अनुगमन गर्नतर्फ विशेष ध्यान दिन आवश्यक छ ।