सिन्धुलीमा संचालित सरकारी तथा निजि बैंकले मनपरी गरेको भन्दै सेवाग्राही असन्तुष्ट देखिएका छन् । जिल्लमा संचालित ‘क’ श्रेणिको वाणिज्य बैंक, ‘ख’ श्रेणिको विकास बैंक, ‘ग’ श्रेणिको फाइनान्स कम्पनि र ‘घ’ श्रेणिको लघुवित्त संस्थाले सेवाग्राहिलाई सेवा दिने भन्दापनि लाभ बढि लिने गरेकोे गुनासो बढ्दो छ । नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडको सेवाप्रतिपनि जिल्लावासिको बढ्दो असन्तुष्टि छ । जिल्लाको सदरमुकामस्थित सिन्धुलीमाढीमै रहेका बैंकहरुको एटिएम सधैँ बिग्रदा सेवाग्राही आजित बनेका छन् । राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक लगायत अधिकांश बैंकको एटिएम बिग्रदा सेवाग्राहीले सास्ती व्यहोर्नुपरिरहेको छ । बैंकको एटिएमप्रति सेवाग्राही भर पर्ने अवस्थानै छैन । यो समस्या विगत धेरै समयदेखिको हो । तर, जिल्लामा संचालित विभिन्न श्रेणिका बैंकले सेवाग्राहीको समस्यालाई प्राथमिकतानै दिन चाहेको देखिदैँन । तसर्थ, ‘खाए खा, नखाए....’ प्रवृद्धिको अन्त्य गर्न निजि तथा सरकारी बैंक गम्भिर हुन जरुरी छ । त्यसैगरि, नियमनकारी निकायले पनि जिल्लाका बैंक तथा वित्तिय संस्थामा देखिएको बेथितिलाई कम गर्न विशेष जोड दिन आवश्यक छ ।
जिल्लामा रहेका बैंकले सेवाग्राहीको आवरणलाई हेरेर सेवा दिने गरेको गुनासो व्यापक छ । बैंकले ऋण प्रवाह गर्दा सम्पत्ति मूल्यांकन ‘भ्यालुएसन’ मा पहँुचवाला सेवाग्राहीप्रति लचिलो हुने र सोझा सेवाग्राहीको सम्पत्ति पर्याप्त भएपनि आलटाल गर्ने गरेका छन् । त्यसैगरि, बैंकको किस्ता उठाउने तरिकापनि ठिक नभएको सेवाग्राहीले आलोचना गरेका छन् । बैंक तथा वित्तिय संस्थाले ऋणीको परिवारका सदस्यलाई मानसिक यातना दिनेदेखि ऋणीलाई अफ्ठ्यारोमा पारी जग्गा खरिदकर्ता तयारमा राखेर सस्तोमा जग्गा विक्री गर्न बाध्य बनाउने गरेका छन् । तसर्थ, सिन्धुलीमा बैंक तथा वित्तिय संस्थाको अराजकता र मनपरि रोक्नकालागि सरोकारवाला निकायले सचेत गराउन जरुरी छ । अतः देशभरनै बैंक तथा वित्तिय संस्थाको मनपरि विरुद्ध आन्दोलन भइरहेको अवस्थामा जिल्लाका बैंक तथा वित्तिय संस्था सच्चिन जरुरी छ ।