शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाई ४ देउरालीमा सामुदायिक भवन निर्माण सुरु

आइतवार , बैशाख ३, २०८०

सिन्धुली – कमलामाई नगरपालिका ४ देउरालीमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण हुने भएको छ । शनिबार कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र ढकालको अध्यक्षमा एक औपचारिक कार्यक्रमको आयोजना गरि भवन निर्माण सुरु भएको हो ।

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले सामुदायिक भवन निर्माणका लागि २० लाख बजेट विनियोजन भएको गरेको छ । यहि असार मसान्त सम्म भवन निर्माण सकिने सम्झौता भएको वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।

विगत ३ वर्ष अगाडि कमलामाई नगरपालिकाले सो ठाउँमा सामुदायिक भवन निर्माणका लागि ७ लाख बजेट विनियोजन गरेको थियो । भवन निर्माणका लागि जग्गाको विवादमा सो बजेट फिर्ता भएको थियो । भवन निर्माण हुने सार्वजनिक जग्गा हो । सो जग्गामा विगत २० वर्ष देखि भोगचलन गर्दै आएका स्थानियले जग्गा दावी गरेका थिए ।

झण्डै पाँच जनाले सो जग्गा दावी गरेको वडाअध्यक्ष ढकालले बताउनुभयो । उहाँको अनुसार भवन निर्माणका लागि लामो समय देखि विवाद भइरहेको थियो । “जग्गाका लागि विवाद भएको थियो । तीन वर्ष अगाडि नै कमलामाई नगरपालिकाले भवन निर्माणको लागि ७ लाख हालेको थियो । जग्गाको विवादको कारण सो बजेट फिर्ता गयो ,” उहाँले भन्नुभयो ।

विगत २० वर्ष देखि सो जग्गा भोगचलन गर्दै आएको स्थानिय हरि आछामेले एक जनाको कारणले गाउँकै विकास नहुने भन्दै सामुदायिक भवन निर्माणका लागि जग्गा हस्तान्तरण गर्नुभयो । उहाँले आगामी दिनमा आफ्नो क्षेत्रको विकास गर्नका लागि आफु लागि पर्ने प्रतिवद्धता समेत गर्नुभयो ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले सबै जना हातेमालो गरेमा आफ्ना क्षेत्रको विकास हुने बताउनुभयो । नगरपालिकाले आगामी दिनमा विकास निर्माण सँग नागरिकको आर्यआर्जनसँग जोड्ने कार्यक्रम ल्याउने प्रतिवद्धता समेत गर्नुभयो । साथै उहाँले नगरपालिकामा संचालन भइरहेको आर्यआर्जनसँग जोडिने कार्यक्रममा सहभागिता जनाउन समेत सम्पूर्णलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया