सार्वजनिक सम्पत्ति भन्नाले जनताबाट कर उठाएर जनतालाई नै सुविधा दिन निर्माण गरिएको सम्पत्ति हो । सार्वजनिक शौचालय, सडक, सडकमा राखिएका ऐना र सरकारले नागरिकको सुविधाकालागि निर्माण गरिएको संरचना हो । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नसके धेरै नागरिक लाभान्वित हुन्छन् । तर, नेपालमा भने सार्वजनिक सम्पत्तिको संरक्षणमा न त सरकार चनाखो हुन सकेको छ न त जनतानै । सार्वजनिक सम्पत्तिलाई आफ्नो भन्ने सोच नहुँदा सम्म ती सम्पत्तिको संरक्षा मुश्किल छ । नेपालका अधिकांश सार्वजनिक सम्पत्तिहरुको व्यवस्थापनमा कमजोरी देखिएको छ । सरकारी पक्षबाट सार्वजनिक सम्पत्तिको संरक्षण हुन सकेको छैन । नागरिकले पनि सरकारी सम्पत्तिमा मनलाग्दी गरिरहेका छन् ।
विपी राजमार्गमा राखिएका अधिकांश कन्भेक्स ऐना फुटेका छन् । ती ऐनाहरुले सवारीसाधनलाई घुम्तिमा सहज बनाउने गर्दथ्यो । सार्वजनिक सम्पत्तिमा नागरिकको अपनत्व नहुँदा सुविधाकालागि राखिएका ती संरक्षणा केहिले घरमा सझाएका छन् त केहि फुटेका छन् । ऐना त एउटा उदाहरण मात्र हो । सार्वजनिक शौचालयको अवस्था हेर्ने हो भने पनि त्यस्तै छ । अधिकांश शौचालयहरुको व्यवस्थापन नहुँदा प्रयोगविहिन भएका छन् । यस्तै थुप्रै उदाहरणहरु छन् जहाँ सार्वजनिक सम्पत्तिको संरक्षण नै हुन सकिरहेको छैन । तसर्थ, सरकारले नागरिकमा चेतना बढाउन सक्नुपर्छ । त्यसैगरि, हरेक नागरिकले सार्वजनिक सम्पत्तिको अपनत्व महशुश गर्न आवश्यक छ । अतः सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनमा सबैको सक्रियता आवश्यक पर्दछ ।