सिन्धुली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी चेकजाँचमा कडाई गरेको छ । नयाँ वर्ष २०८० मा कुनै पनि अप्रिय घट्ना घट्न नदिन साथै ट्राफिक नियम कार्यान्वयन गराउन सिन्धुली प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको हो । जिल्लाको विभिन्न चेकप्वोइन्ट साथै सवारी आवतजावत बढी हुने स्थानमा ट्राफिक प्रहरी परिचालन गरेको थियो ।
नयाँ वर्षको समयमा लापर्वाही गर्दै सवारी चलाउने तथा सवारी नियम तोड्ने जस्ता गतिविधि नियन्त्रण गर्न सवारी चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जंग कार्कीले बताउनुभयो ।
उहाँका अनुसार नयाँ वर्षको दिनमा सवारी दुर्घटनाका कुनै पनि घट्ना घटेको छैन । ठाउँठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ । “हामीले बैशाख १ गते सवारी दुर्घटना हुन नदिन ठाउँठाउँमा चेकजाँच गरेका थियौँ । नयाँ वर्षको दिन सडकमा एकदमै सवारी चाप बढेको थियो,” उहाँले भन्नु भयो ।