सिन्धुली– नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि सिन्धुलीका पर्यटकिय स्थल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । बागमती प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको सिन्धुलीमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो ।
नयाँवर्ष मनाउनका लागि कमलामाई नगरपालिकामा रहेको सिन्धुलीगढी, हरिहरपुगढी गाउँपालिकामा पर्ने हरिहरपुरगढी, मरिण गाउँपालिकामा पर्ने पन्चकन्या, सुनकोशी गाउँपालिकाको मुल्कोट, फिक्कल गाउँपालिकाको चनौटे, घ्याङलेख गाउँपालिकाको फापरचुली लगायतका स्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ । पर्यटकका लागि उपयुक्त मौसम साथै बिपि राजमार्ग नजिक भएकाले सिन्धुलीगढीमा विदेशी पर्यटकको समेत आवतजावत बढेको छ ।
नयाँ वर्षको दिन बैशाख १ गते मात्रै चार हजार पर्यटकले सिन्धुलीगढीको अवलोकन गरेका छन् । सिन्धुलीगढी युद्ध संग्राहलय अवलोकन गरे बापत एकै दिन एक लाख ६५ हजार राजश्व संकलन भएको सिन्धुलीगढीका प्रशासन प्रमुख रविन योन्जनले बताउनुभयो । उहाँका अनुसार छिमेकि जिल्ला साथै भारतबाट सिन्धुलीगढी अवलोकन गर्न आएका थिए । नेपाल सरकारले सिन्धुलीगढीलाई पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको छ । कमलामाई नगरपालिका ३ मा पर्ने सिन्धुलीगढी प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण पर्यटकीय महत्व बोकेको स्थल हो । गढीमा बसेर वीर गोर्खालीले अंग्रेज विरूद्धको युद्ध जितेका थिए । गढी पुनः निर्माण र युद्ध संग्राहलय निर्माण भएसँगै पर्यटकको संख्या बढेको छ ।
हरिहरपुगढी गाउँपालिकामा अवस्थित हरिहरपुगढीमा पनि आन्तरिक पर्यटकको घुइचो लागेको स्थानियले बताएका छन् । गढीमा पर्यटकको चहलपह बढेसँगै हरिहरपुगढीका साना तथा ठुला होटलको कारोबार समेत राम्रो भएको उनीहरु बताउँछन् ।
मरिण गाउँपालिका ५ मा रहेको पन्चकन्या मन्दिरमा शुक्रबार बिहान देखिनै भिड देखिएको थियो । मन्दिर दर्शन गर्ने आउने भक्तालु साथै नयाँ वर्ष मनाउन आन्तरकि तथा बाह्य पर्यटक पन्चकन्या पुगेका थिए । मन्दिर नजिकको पिक्निक क्षेत्रमा पिक्निक खानेको भिड नै लागेको स्थानियले बताएका छन् । ‘झण्डै पाँच हजार भन्दा बढी पन्चकन्या घुम्न आएका थिए । मन्दिर नजिक पिक्निक खानेको पनि भिड नै थियो ।’, स्थानिय कुमार माझिले भन्नुभयो । पौराणिक महत्व बोकेको मरिणको पन्चकन्या पोखरीमा मरिण, हरिहरपुरगढी गाउँपालिका देखि धनुषा, सर्लाही, रौतहट लगाएतका जिल्लाबाट पर्यटकहरु घुम्न तथा वनभोज खान आएका थिए । कमलका फुलहरु फुलेर मनोरम देखिएको पन्चकन्या पोखरीले त्यहाँ घुम्न आएका पर्यटकको मन नै लोभ्याएको छ । पन्चकन्य मन्दिर प्रत्येक नयाँ बर्ष लगाएत अन्य बेलामा घुम्न तथा वनभोज खाने पर्यटकहरुको गन्तव्य बन्दै आएको छ । मरिण गाउँपालिकाले पन्चकन्या पोखरीलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न करोडौं रुपैयाँ लगानी गरेर विभिन्न संरचनाहरु बनाईरहेको छ ।
फिक्कल गाउँपालिकामा रहेको सबैभन्दा अग्लो स्थान चनौटेमा घुम्न आउनेको लर्को थियो । पर्यटकिय गन्तव्यको रुपमा विकास हुदैँ गएको फिक्कल गाउँपालिकाको चनौटे भ्यूटावरमा नयाँ वर्ष मनाउन जानेको भिड लागेको स्थानियले बताएका छन् । साथै, नयाँ वर्षेकै अवसरमा उक्त भ्युटावरको उद्घाटन गरिएको छ ।
विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण पनि जिल्लाका पर्यटकीय स्थलमा नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
नयाँवर्षका अवसरमा सुनकोशी गाउँपालिका मुल्कोटमा संचालित होटल तथा रिसोर्ट भरिभराउ रहेको थियो । ‘हिजो राति सबैले हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरेका छन्, पाहुना भरिभराउ छन्’, मुल्कोटका एक होटल व्यवसायिले भने, ‘दिउँसै देखि पर्यटकको चहलपहल बढेको थियो । त्यसमध्ये बास बस्ने पर्यटकको संख्या अधिक थियो ।’ नयाँ वर्षमा रमाइलो गर्नका लागि पाहुनाहरूले मूलकोट रोज्नुको कारण भने सुनकोसी नदीमा ¥याफ्टिङ, बोटिङ, बीपी राजमार्ग किनारमा रहेको सेतीदेवी, सुनकोसी पारी रामेछापमा रहेको खाँडादेवी र कुशेश्वर मन्दिरको दर्शन, एकीकृत नमूना बस्तीलगायत रहेका छन् ।