सिन्धुलीको वनमा डढेलो लाग्न रोकिएको छैन । हरेक दिन फरकफरक ठाउँमा आगलागी भइरहेको छ । चालु वर्षमा डढेलोमा परि सिन्धुलीमा एकजनाको मृत्यु भइसकेको छ । हालसम्म वस्तिमै पसेर डढेलोले ठूलो जनधनको क्षति नभएपनि जोखिम भने बढ्दो छ । वन डढेलोले भौतिक क्षतिका साथै वन्यजन्तु लगायत जंगलमा कटान गरि राखेको काठमा पनि क्षति पुर्याएको छ । डढेलोले विपत्ति त निम्ताएकै छ त्यस अलावा तस्करहरुपनि सल्बलाइरहेको स्थानियले बताएका छन् । काठदेखि वन्यजन्तु तस्करहरुले गैरकानुनि कार्य गरिरहेको स्थानियको आरोप छ । तसर्थ, वन डढेलो नियन्त्रणका साथसाथै तस्करी रोक्न प्रहरी, सामुदायिक वन लगायत सरोकारवाला निकाय सक्रिय हुन जरुरी छ ।
जिल्लामा रहेका सामुदायिक वन सक्रिय हुनसके मात्रै पनि वनमा लाग्ने डढेलो केहि हदसम्म नियन्त्रणमा लिन सक्ने अनुमान लगाउन सकिन्छ । तर, डढेलोकै मौसममा सामुदायिक वन उपभोक्ता समितिका सदस्य भ्रमणमा निस्किएपछि विपत्तिमा समुदाय एकजुट नभएको देखिन्छ । सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षणमा अहम भुमिका खेलेको छ । तर, विपत्तिको समयमा गत चैत्र ८ गते समितिका सदस्यहरु भ्रमणमा निस्किएपछि आलोचनाको सिकार भएका थिए । जिल्ला वन कार्यालय सिन्धुलीलले पनि वन डढेलो नियन्त्रणकालागि गम्भिर नभएको स्थानियले गुनासो गरेका छन् । तसर्थ, वन कार्यालयले सामुदायिक वन उपभोक्ता समितिसँग छलफल र सहकार्य गरेर वन डढेलो नियन्त्रणकालागि पहल गर्नुपर्छ । त्यसैगरि, प्रहरी प्रशासनले पनि विपत्तिको बेला तस्करीको घट्ना बढ्न नदिन निगरानि बढाउन आवश्यक छ ।