बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बालश्रम अन्त्यकालागि जुटौँ

बिहिवार , चैत्र ३०, २०७९

बालबालिकाको नाममा वर्षेनि सिन्धुलीमा लाखौँ रकम खर्च हुने गरेको छ । सरकारी देखि गैह्रसरकारी संस्थाले बालश्रम, बालविवाह लगायत बालबालिकाको अधिकार हनन् हुने कार्यको विरुद्धमा विविध कार्यक्रम संचालन गर्दै आएका छन् । तर, औपचराकिताकालागि मात्र हुने त्यस्ता कार्यक्रमले प्रतिफल राम्रो ल्याउन सकिरहेको छैन । बालश्रम अन्त्य गर्न कुनै एक निकाय गम्भिर भएर मात्र हुदैँन । बालबालिकाको पारिवारिक अवस्था सुदृढिकरण नगरेसम्म बाल श्रम अन्त्य हुने परिकल्पना गर्न सकिदैँन । त्यसैले, रोजगारी सिर्जना गर्न जिल्लाका सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ । यतिमात्र नभएर जिल्लाका स्थानिय तहले प्रभावकारी कार्यक्रमहरु ल्याएर नागरिकको जिवन स्तर उकास्न तर्फ विशेष ध्यान दिन आवश्यक छ ।

सिन्धुलीका स्थानिय तहले प्रभावकारी कार्यक्रम नल्याउँदा बालबालिकाको हितमा सकारात्मक परिवर्तनहरु देखिएको छैन । बालबालिकाहरु पढ्दा पढ्दै विद्यालय छोडेर रोजगारी गर्दै आएका छन् । तर, विद्यार्थीलाई कसरी विद्यालयमै टिकाईराख्ने र बालश्रम न्युनिकरण गर्ने भन्नेतर्फ जिल्लाका स्थानिय तहले खासै उपलब्धिमुलक कार्य गर्न सकेका छैनन् । विद्यालयमा अति विपन्न परिवारका विद्यार्थी हुन्छन् । कतिपय अभिभावकको जग्गा छैन । गरिखाने सीप छैन । यस्ता अभिभावकले छोराछोरीलाई बीचमै पढाइ छुटाउँछन् । रुपन्देहिको एक स्थानिय तहमा जस्तै उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिनेखालेको कार्यक्रम संचालनमा आउन जरुरी छ । बालश्रमको अन्त्य गर्न अनेकौँ विधि होलान् तर सबै जुटे बालबालिका मुक्त जिल्ला बनाउन केहि हद सजिलो हुन्छ । तसर्थ, बालश्रमको अन्त्य गर्न जिल्लाका स्थानिय सरकार र बालबालिकाको बिजोग देखाएर पैसा उठाउने गैर सरकारी संस्थाले प्रभावकारी कार्यक्रम ल्याउनतर्फ जोड दिनुपर्छ ।

 

प्रतिक्रिया