सिन्धुलीको कमलामाई नगरपालिका लगायत अन्य स्थानिय तहमा लम्पि स्किन नामक रोग गाईँभैँसीमा देखापरेपछि पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको कमलामाई नगरपालिकाले सूचनानै निकालेर किसानलाई सजगता अपनाउ अनुरोध गरेको छ । यसअघि गोलन्जोर र फिक्कल गाउँपालिकामा लम्पि स्किन रोग देखापरेको प्रयोगशालाको नतिजाले पुष्टि गरेको थियो । हावाको माध्यमबाट पनि सर्न सक्ने उक्त रोग देखापरेसँगै जिल्लाका किसानहरुले असुरक्षित महशुश गरेका छन् । पक्स समुहको काप्रिक्स भाइरसबाट फैलिने संक्रमणले यसअघिका वर्षमा पनि सिन्धुलीमा गाईँभैसीको मृत्यु भएको थियो । झण्डै दुई वर्षअघि सिन्धुलीका तीन सय बढि गाईँभैँसीमा संक्रमण देखिएको थियो ।
गाईँभैसीमा देखिने जटिल रोगको नियन्त्रणकालागि स्थानिय सरकार, भेटनरी अस्पताल लगायत राज्यको संयन्त्रणले यथाशिघ्र प्रभावकारी कदम चाल्न ढिलाई गर्नुहुदैँन । सर्वप्रथम, जिल्लाका नौँवटै स्थानिय तहमा रहेका गाईँभैसिको स्वाब संकलन गरि प्रयोगशालामा पठाउनतर्फ जिम्मेवार निकायले पहल गर्न जरुरी छ । त्यसैगरी, किसानलाई आफ्नो गोठ संक्रमणमुक्त बनाउन के कस्ता उपाय अपनाउनुपर्ने भन्ने जानकारी दिन सम्बन्धित निकायले ककञ्जुस्याँई गर्नुहुदैँन । किसानले वर्षौँ दुख गरेर पालेको गाईवस्तु सखाप हुन नदिन स्थानिय तहको पशु शाखा, भेटेरिनरी अस्पताल लगायत सरोकारवाला निकाय गम्भिर हुन आवश्यक छ ।
हालसम्मपनि लम्पि स्किन रोगविरुद्धको खोप नेपालमा उपलब्ध छैन । त्यसैले, संक्रमणले जटिल मोड लिनु अघिनै सम्बन्धित निकायले आवश्यक कदम चाल्नतर्फ केन्द्रित हुुनुपर्दछ । अतः गाईभैँसीमा उक्त रोगको संक्रमण फैलन नदिन सार्वजनिकस्थलमा चरन बन्द गर्ने लगायत गोठ सरसफाई र अन्य उपाय तु परिचालन गर्न किसान स्वयं र राज्यको संयन्त्र गम्भिर हुनुपर्दछ ।